सिलगढीको प्रधाननगर थाना पुलिसको एन्टी क्राइम विङ्गले देशी बन्दुकसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा पुलिसले बुधबार राति सिलगढीको हिलकार्ट रोडमा छापा मारेर एक युवकलाई पक्राउ गरेको बताइएको छ।
पक्रा परेका युवकबाट एउटा देशी बन्दुक र एक राउन्ड गोली पनि बरामद भएको छ। घटनाले गर्दा सम्पूर्ण क्षेत्रमा सनसनी मच्चिएको छ।
पुलिस सूत्रअनुसार, सञ्जय पाल नामक युवक शंकास्पद रूपमा विश्वदीप सिनेमा हल संलग्न क्षेत्रमा घुमिरहेको थियो। गोप्य सूचना पाएपछि पुलिसले त्यहाँ छापा मारेको थियो।
छापा मार्ने क्रममा युवकलाई सोधपुछ गर्नका साथै उसको तलासी लिइयो। तलासीको क्रममा युवकबाट देशी बन्दुक र गोली बरामद भएपछि उसलाई तुरुन्तै पक्राउ गरिएको बताइएको छ।
प्रारम्भिक सोधपुछमा उक्त बन्दुक मालदाबाट ल्याएको र त्यसलाई सिलगढीमा बेच्ने उद्देश्य रहेको पुलिसले पत्तो लगाएको छ। आरोपीलाई बिहीबार सिलगढी अदालतमा पेश गरियो । हाल पुलिसले घटनाबारे छानबिन गरिरहेको बताइएको छ।
Leave a Comment