सिलगढ़ीको डा. आईबी थापा नेपाली विद्यालयकी विद्यार्थी पेमु डोल्मा शेर्पाले सर्वभारतीय परीक्षा नीट आफ्नो पहिलो प्रयासमै उत्तीर्ण गरेर सरकारी मेडिकल कलेजमा भर्ना पाएकी छन्। पेमुको यो उपलब्धिले विद्यालय परिवार गर्व अनुभव गरिरहेको अनि डाक्टर बन्ने सपना देख्ने विद्यार्थीहरूका लागि उनी एउटा उदाहरण बन्नपुगेको विद्यालयका प्रधान अध्यापक हेमन्त शर्माले बताएका छन्।
उल्लेखनीय छ, पेमुले कुनै पनि कोचिङ नगरी सरकारी विद्यालय पढ़ेर मात्र पनि यस्तो कठिन परीक्षा उत्तीर्ण गरेर सरकारी मेडिकल कलेजमा डाक्टर बन्नसक्ने उदाहरण प्रस्तुत गरेकी छन्।
पेमु डोल्मा शेर्पा सुकना निवासी निमा टाँसी शेर्पा अनि सुमिका शेर्पाकी छोरी हुन्। उनको परिवारमा बाबा-आमा, बोजु र दाजु छन्। सानैदेखि पढ़्नमा तीक्ष्ण बुद्धिकी पेमु नीट परीक्षा उत्तीर्ण गर्ने सुकना भेकमै सम्भवत: प्रथम छोरी हुन्।
सुकना बेकन पब्लिक स्कूलबाट माध्यमिक परीक्षा उत्तीर्ण गरेपछि यसै वर्ष उनी डा. आईबी थापा नेपाली विद्यालयबाट उच्चतर माध्यमिक परीक्षामा 86.8 प्रतिशत उत्कृष्ट अंक ल्याएर अब्बल दर्जामा उत्तीर्ण भएकी थिइन्।
नीट परीक्षा उत्तीर्ण गरेपछि आफूले वर्द्धमानको सरकारी मेडिकल कलेजमा भर्ना पाएको पेमुले बताएकी छन्। उच्चतर माध्यमिक परीक्षाको निम्ति ट्युशन पढ़ेको तर नीट परीक्षाका लागि भने कुनै कोचिङ नलिएको केवल अनलाइन मार्फत् पढ़ेको उनले जनाएकी छन्। दिनभरि स्कूलमा हुन्थें... अनि घर आएपछि र छुट्टीको दिनमा समय निकालेर पढ्ने गरेको पेमु बताउँछिन्। धेरै खुशी छु भन्दै पेमुले बाबा-आमाको पूर्ण सहयोगकै कारण आफूले नीट परीक्षा उत्तीर्ण गर्नसकेको बताएकी छन्। यसैबिच, उनका बाबु निमा शेर्पा छोरीको यस उपलब्धिप्रति गर्वित बनेको बताएका छन्।
पेमुले डा. आईबी थापा नेपाली विद्यालयको नाम उच्च गरेकोमा उनलाई विद्यालयले बधाई दिँदै उनको उत्तरोत्तर भविष्यको कामना पनि गरेको छ।
स्मरण गराइन्छ, यसै विद्यालयका विद्यार्थी अजय मोक्तानले गत वर्ष देशको प्रतिष्ठित युपीएससी परीक्षा उत्तीर्ण गरेर आफ्नो आईएएस बन्ने सपना पूरा गरेका थिए।
Leave a Comment