loader

Breaking News

ईशान गुरुङ मामिला : कहाँ पुग्यो जाँच प्रक्रिया?

Image
 


10 दिन बित्यो... ईशान गुरुङको अझै पत्तो लाग्नसकेको छैन। लाचार बन्दै ईशानका परिवार घरि प्रशासन, घरि स्कूल त घरि गाउँवासीसित आफ्ना दुख बिसाइरहेका छन्। एकातिर ईशानलाई खोजिनिकाल्न पुलिस प्रशासन लागिपरेको छ भने अर्कोतिर यतिका दिनसम्म पनि ईशानको पत्तो नलाग्नुले विभिन्न प्रश्नहरू उठिरहेछन्।
सेवोक 10 माइलका नाबालक विद्यार्थी ईशान गुरुङ अपहरण भएको दश दिन बित्यो तर उनको अझै पत्तो लागेको छैन। विद्यार्थीलाई खोजिनिकाल्न दार्जीलिङ पुलिस सक्रियताका साथ लागिपरेको दार्जीलिङ पुलिस अधीक्षक प्रवीण प्रकाशले बताएका छन्। यस मामिला जाँचका लागि दशजनाभन्दा धेरको एउटा स्पेशल इन्भेस्टिगेशन टीम बनाएको, जसमा सिनियर भारप्राप्त अफिसरहरू पनि रहेका छन्।  ईशान मामिलालाई पुलिसले विभिन्न कोणबाट हेरिरहेको अनि यसको जाँच गहन रूपमा भइरहेकाले यसबारे अहिले नै केही भनिहाल्न नसक्ने पुलिस अधीक्षकको भनाइ छ।
यसअघि ईशानको पत्तो लगाउनेलाई दार्जीलिङ पुलिसले 2 लाख रुपियाँ पुरस्कारसमेत दिने घोषणा गरिसकेको छ। 
तथापि, ईशानका परिवार निरुपाय बन्दै आफ्ना छोरा खोजिनिकाल्नका लागि चारैतिर गुहार लगाउँदै के गर्ने के नगर्ने भन्दै असमञ्जसमा परेका छन्।
ईशान गुरुङको पत्तो लगाउन पुलिसले पूर्ण समर्पणका साथ हरसम्भव प्रयास गरिरहेको भनिए पनि तर 10 दिन बितिसक्दा उनको पत्तो लाग्न नसकेपछि विभिन्न प्रश्नहरू उठ्न थालेका छन्। यस घटनाको जाँच प्रक्रिया कहाँसम्म पुग्यो अथवा जाँच प्रक्रियामा के-कति प्रगति भइरहेछ, सोबारे अझसम्म कुनै खुलस्त नभएको जनगुनासो एकातिर छ भने अर्कोतिर पुलिस प्रशासनले अहिले नै ईशान मामिलामाथि यकिनका साथ केही भन्न नसकिने बताइरहेको छ।
स्मरण गराइन्छ, सिलगढ़ीदेखि केही टाढ़ा सेवोकछेउ 10 माइल फरेस्ट बस्तीमा गत 23 अगस्त शनिबार साँझ 5 बजीतिर 14 वर्षीय ईशान गुरुङको अपहरण भएको थियो। पछि ईशानका परिवारले सेवोक पुलिस आउटपोस्टमा छोराको मिसिङ डायरी दर्ता गरेका थिए। घटनाको चार दिन बितिसक्दा पनि ईशानको पत्तो नलाग्दा 26 अगस्तको दिन स्थानीय मानिसहरू क्षुब्ध बन्दै सड़कमा ओर्लिएका थिए।
यसैबिच, ईशान अपहरण मामिलालाई लिएर आफ्नो सामाजिक पेजमार्फत् पूर्व आइपीएस अधिकारी एवम् इण्डियन गोर्खा जनशक्ति फ्रण्टका नेता नर्बु छिरिङले आफ्नो मन्तव्य साझा गर्दै ईशान काण्डको प्रगतिबारे हामी सम्बन्धित जनता पूर्णरूपमा अन्धकारमा रहेको बताएका छन्। यहाँका अधिकारीहरूले भइरहेका प्रयासहरूका बारेमा जनतालाई जानकारी नदिनु दुर्भाग्यपूर्ण भनी उनले बताएका छन्। ईशान मामिला जस्ता संवेदनशील घटनाहरूमा वरिष्ठ अधिकारी, विशेषगरी एसपीले समय-समयमा जनतालाई सम्बोधन गर्नुपर्ने अनि देशका अन्य भागहरूमा जस्तै अनुसन्धानको प्रगति अद्यावधिक गरिनुपर्ने छिरिङको भनाइ छ।
अर्कोतिर, तराई क्षेत्रका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका युवा नेता अनुप गदालले ईशान गुरुङ अपहरण काण्ड, दुष्कर्मसितै समाजमा बढ़्दो दुव्यर्सनीमाथि बोल्दै यसलाई रोक्न युवाहरू अब सक्रियताका साथ अघि आउनुपर्ने मन्तव्य पोखेका छन्। उनले भयमुक्त समाज निर्माण गर्न युवाहरूको सक्रिय सहभागिताको आवश्यकतामाथि पनि जोर दिएका छन्।
ईशान अझै भेटिएका छैनन्.... 
अब राजनीति, सिद्धान्त आदिदेखि माथि उठेर  ईशान गुरुङलाई खोजिनिकाल्ने अभियानमा सबै पक्ष जुट्न आवश्यक छ। पुलिस प्रशासन आफ्नो पक्षबाट प्रयासरत् रहे पनि हामी सबै जागरूक भई एकाअर्कालाई हातेमालो गर्दै ईशान खोजी अभियानमा लाग्नु नै श्रेयस्कर हुनेछ।

 


Leave a Comment