loader

Breaking News

सिलगढीको बर्दवान रोड फ्लाईओभरको कार्य चाँडै पुरा हुने

Image
 

सिलगढीमा दुर्गा पूजाअघि ट्राफिक जाम कम गर्न प्रशासनले पहल गरेको छ। सिलगढीको बर्दवान रोडमा निर्माणाधीन फ्लाईओभरको काम पूजा अघि पूरा नहुने भए पनि, सर्भिस रोड निर्माण गरेर यसलाई आवागमनका लागि उपयुक्त बनाउने योजना बनाइएको छ। लामो समयदेखि निर्माणाधिन उक्त फ्लाइओभरको कारण क्षेत्रमा ट्राफिक जामको समस्यासँगै आम जनताले पनि धेरै समस्याको सामना गर्नु परिरहेको थियो। यसै क्रममा सिलगढीका मेयर गौतम देवले शनिबार फ्लाईओभरको निरीक्षण गरे।

निरीक्षणपछि, मेयरले सिलगढीको झंकार मोडदेखि एयरभ्यू मोडसम्मको क्षेत्रमा ट्राफिक जाम कम होस् भन्ने उद्देश्यले पूजा अघि सर्भिस रोड निर्माण गरी यसलाई सुचारू गर्ने निर्णय गरिएको बताए। साथै, उनले नयाँ वर्षअघि फ्लाईओभर खोल्ने सम्भावना नरहेको स्पष्ट पारेका छन्। यद्यपि डिसेम्बरसम्ममा पनि मुख्य फ्लाईओभर पूरा हुने सम्भावना देखिएको छैन, जनवरीमा भने यो निर्माण कार्य पुरा हुने सम्भावना रहेको पनि बताइएको छ।

यो फ्लाईओभर राज्य सार्वजनिक निर्माण विभागको देखरेखमा लगभग 90 करोड रूपियाँको लागतमा निर्माण भइरहेको छ। रेलवे लाइन बीचमा बिछ्याइएको हुनाले, त्यो भागको काम राज्यको खर्चमा रेलवेले गरिरहेको छ। मेयरले सार्वजनिक निर्माण विभागको तर्फबाट काम धेरै हदसम्म पूरा भइसकेको दाबी गरेका छन्। तर रेलवे भागमा अझै धेरै काम बाँकी रहेको र कामको गतिलाई लिएर रेलवेसँग छलफल गरिएको बताएका छन्।

शनिबार, मेयरले सार्वजनिक निर्माण विभाग र रेलवेका अधिकारीहरूसँग मिलेर सम्पूर्ण क्षेत्रको निरीक्षण गरे र कामको प्रगतिको पनि समीक्षा गरे। समग्रमा, पूजाअघि सम्पूर्ण फ्लाईओभरको काम पूरा नहुने भएकोले सर्भिस रोड सुचारू गरिइनाले सिलगढीवासीलाई केही राहत पुग्ने विश्वास गरिएको छ।


Leave a Comment