loader

Breaking News

सिक्किममा भाडामा बस्ने तथा प्रवासी मजदुरहरूको प्रमाणीकरण र पञ्जिकरण अनिवार्य

Image
 

द हिमाल वर्ल्ड
सिक्किम, 31 जनवरी 2025

गान्तोक जिल्लाका पुलिस अधीक्षक तेन्जिङ लोडेन लेप्चाले शुक्रबार पत्रकार सम्मेलन गर्दै सिक्किममा भाडामा बस्ने, प्रवासी मजदुर आदिको प्रमाणीकरण र पञ्जिकरण प्रक्रिया कडाइका साथ अनिवार्य गरिइने जानकारी दिएका छन्। सिक्किम टेनेन्ट एण्ड डोमेस्टिक एण्ड प्रोफेशनल हेल्प कम्पलसरी भेरिफिकेशन एक्ट, 2008 (Sikkim Tenants and Domestic and Professional Help Compulsory Verification Act, 2008 ) अनुसार कसैलाई घर वा कोठा भाडामा दिएमा 30 दिनभित्र नजिकैको पुलिस थानामा टेनेन्ट भेरिफिकेसन फर्म बुझाउनु पर्नेछ। त्यसैगरी, घरेलु कामदार राखेमा इम्प्लोई भेरिफिकेसन फर्म बुझाउन अनिवार्य छ। पुलिस अधीक्षकले जानकारी गराएअनुसार यो नियम पालना नगरेमा कानुनी कार्वाही हुनेछ।
सिक्किम लेबर रेगुलेशन अफ इम्प्लोइमेन्ट एण्ड कन्डिशन्स अफ सर्भिसेस एक्ट, 2021 (Sikkim Labour Regulation of Employment and Conditions of Services Act, 2021) अनुसार, बाहिरबाट आएका सबै मजदुरहरूको पञ्जिकरण अनिवार्य रूपमा गरिनुपर्छ। रोजगारदाताले आफ्नो मजदुरलाई जिल्ला श्रम कार्यालय वा चेकपोस्टमा अनिवार्य रूपमा मजदुर पञ्जिकरण गराउनु पर्ने हुन्छ। यसो नगरेमा रोजगारदातालाई प्रति मजदुर पच्चिस सय जरिवाना लाग्नेछ। यद्यपि, हालसम्म सङ्गठित क्षेत्र र असङ्गठित क्षेत्र गरेर केवल 30 हजार मजदुरहरूको नाम मात्र दर्ता भएको पुलिस अधीक्षकले जानकारी गराएका छन्, जबकि कोभिडका बेला एक लाखभन्दा बढी मजदुरलाई राज्यबाट बाहिर पठाइएको थियो।
धार्मिक संस्थाहरूले प्रवचन दिन आउने व्यक्तिहरूको जानकारी पनि पुलिसलाई अनिवार्य रूपमा दिनुपर्छ भने कोही अन्तर्राष्ट्रिय नागरिकहरू होटल, होमस्टे वा निजी घरमा बसे उनीहरूको विवरण सी-फर्ममार्फत ब्युरो अफ इमिग्रेशनमा अनिवार्य रूपमा दर्ता गर्नुपर्छ। तर यसमा पनि हालसम्म तेह्र सय होटलहरू मात्र दर्ता भएको र तीमध्ये धेरैले चेक-आउटको विवरण अद्यावधिक नगरेकोले अवैध आप्रवास बढ्ने जोखिम बढेको पुलिस अधीक्षकले बताएका छन्।
अब डिस्ट्रिक्ट इन्टेलिजेन्स युनिट फ्लाइङ स्क्वाड गठन गरिइने र विभिन्न निकायहरूसँग समन्वय गर्दै काम गर्ने पुलिस अधीक्षकले जानकारी गराएका छन्। 10 फरवरी, 2025 भित्र सम्पूर्ण दर्ता प्रक्रिया अनिवार्य रूपमा पुरा गर्नुपर्ने अधीक्षकले बताएका छन्। अब फेसियल रिकग्निशन टेक्नोलोजी लागू गर्ने जानकारी पनि उनले दिएका छन्, जसले आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई स्वतः रूपमा पहिचान गर्न सहयोग गर्नेछ। 
मुख्यमन्त्रीको अध्यक्षतामा हालै सम्पन्न उच्चस्तरीय बैठकमा सिक्किममा अवैध आप्रवास रोकथाम र आगन्तुकहरूको प्रमाणीकरणलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको पुलिस अधीक्षक तेन्जिङ लोडेन लेप्चाले जानकारी गराएका छन्। यसैअनुरूप नै यो कदम उठाइएको पनि उनले बताएका छन्।


Leave a Comment