द हिमाल वर्ल्ड
11 फरवरी
उत्तर सिक्किमको मंगन र जोङ्गुको सम्पर्क पुन विच्छेद भएको छ। मंगन नजीक साङकालाङमा टिस्टा नदीमाथि निर्माण गरिएको बेली ब्रिज मंगलवार दिउँसो भत्किएपछि मंगन र जोङ्गुबिचको सड़क सम्पर्क टुटेको हो।
यो नयाँ पुल भारतीय सेनाको त्रिशक्ति क्रप्सले निर्माण गरेर 1 जनवरी 2025 देखि सञ्चालनमा आएको हो। मंगलवार दिउँसो सीमा सड़क संगठनको एउटा ट्रक पुल पार गर्दैगर्दा भत्किएको थाहा लागेको छ। तथापि यस दुर्घटनामा मानवीय ज्यानमालको क्षति भने भएको छैन।
जानकारी गराइन्छ, 3-4 अक्टोबर 2023 –को टिस्टा त्रासदीले साङकालाङमा रहेको पुरानो पुल बगाएपछि सीमा सड़क संगठनले एउटा बेली ब्रिज निर्माण गरेको थियो। तथापि, 2024 –को जून महिनामा फेरि टिस्टाको भेलले उक्त पुल पनि बगाएपछि यसपल्ट भारतीय सेनाले यहाँ लगभग 60 मीटर लामो बेली ब्रिजको निर्माण गरेको थियो। यो पनि मंगलवार भत्कियो।
साङकालाङको बेली ब्रिज भत्किएपछि मंगन र माथिल्लो जोङ्गुबिचको सड़क सम्पर्क पुन बाधित भएको छ। यसै मार्ग भएर उत्तर सिक्किमको चुङथाङ, लाचुङ र लाचेनतर्फको सम्पर्क पनि स्थापित गरिएको कारण यो नयाँ पुल धेरै महत्त्वपूर्ण थियो। यो पुल भत्किएपछि मानिसहरूले जोङ्गु र उत्तर सिक्किमका अन्य भेकहरूको यात्रा गर्न पुन डिक्चु नजीक फिदाङबाट तल्लो जङ्गु भए यात्रा गर्नुपर्नेछ, जसको दुरी साङकालाङभन्दा लगभग डेढ़ घण्टा लामो हुनेछ।
यता, मंगनबाट सोझै चुङथाङलाई जोड्ने टुङ नागा सड़क मार्ग पनि धेरै प्रगतिमा रहेकाले साङकालाङको पुल भत्किँदा धेरै कठिनाइ झेल्नपर्ने स्थिति भने देखिँदैन।
Leave a Comment