loader

Breaking News

टिस्टा ऊर्जा बाँध निर्माणलाई मन्त्रालयको स्वीकृति : प्रदेश भाजपाले जनायो विरोध

Image
 

द हिमाल वर्ल्ड
सिलगढी, 28 जनवरी, 2025

2023 –को अक्टोबरमा निम्तिएको टिस्टा त्रासदीले देशकै दोस्रो सर्ववृहत् जलविद्युत परियोजना टिस्टा 3 -को टिस्टा ऊर्जा बाँध पूर्णतया ध्वंस भएको लगभग 14 महिनापछि पर्यावरण मन्त्रालयले बाँध पुनर्निर्माणको प्रस्तावलाई  स्वीकृति दिएको छ भने मन्त्रालयको स्वीकृतिलाई लिएर विरोधका स्वरहरू पनि उठ्न थालेका छन्।  उक्त  बाँधको स्थानमा एउटा नयाँ लामो कंक्रिट ग्र्याविटी बाँध निर्माणको प्रस्तावलाई मन्त्रालयले स्वीकृति दिएको हो। यो नयाँ बाँध 118.64 मिटर अग्लो हुनेछ जबकि पुरानो बाँधको उँचाइ 60 मिटर थियो। बाँधको सुरक्षा अनि डिजाइनलाई अहिलेसम्म स्वीकृति प्राप्त नभए पनि तर मन्त्रालयको एउटा विशेषज्ञ मूल्यांकन समिति अर्थात् Expert Appraisal Committee (EAC) –ले गत 10 जनवरी 2025 –मा बाँध पुनर्निर्माणलाई स्वीकृति दिएको थियो।
स्मरण गराइन्छ,  3-4 अक्टोबर 2023 -को राति उत्तर सिक्किमको ल्होनाक ताल विस्फोटपछि आएको बाढ़ीले चुङथाङस्थित 1200 मेघावट क्षमताको टिस्टा चरण तीन जलविद्युत परियोजना टिस्टा ऊर्जा बाँधलाई बगाएको थियो। जसमा सिक्किमलाई सबैभन्दा बढ़ी क्षति पुगेको थियो। यदि उक्त बाँध क्षतिग्रस्त नभएको भए बाढ़ीले मात्र सिक्किममा त्यस्तो विध्वंस ल्याउने थिएन भन्ने मानिसहरूको भनाइ पनि रहेको छ।  टिस्टा ऊर्जा बाँध फुटेकै कारण सिक्किमका तल्ला भेकहरूमा व्यापक क्षति पुग्नगएको जानिफकारहरू बताउँछन्। 
टिस्टा त्रासदीको कारण सिक्किम अनि पश्चिम बंगालका सयौंभन्दा धेर मानिसहरूले प्राण गुमाउनु परेको थियो भने हजारौं मानिसहरू बेघर बनेका थिए। टिस्टाको त्यो उर्लिँदो भेलमा अरबौंको सम्पत्ति नष्ट भएको थियो।
उल्लेखनीय छ, 5 अगस्त 2024 -मा सिक्किम विधानसभाको बजेट सत्रमा बोल्दै मुख्यमन्त्री पीएस गोलेले  चुङथाङस्थित सिक्किम ऊर्जा जलविद्युत परियोजनाको ड्याम भत्किनाले लगभग 25 हजार करोड़ रुपियाँको नोक्सानी भएको अनि यो परियोजना नै ननपर्फमिङ एसेट बनेको जानकारी दिएका थिए। यसबाट सिक्किमलाई वार्षिक 3 सयदेखि 4 सय करोड़ राजस्व घाटा हुनपुगेको पनि तिनले बताएका थिए।
टिस्टा त्रासदीपछि Expert Appraisal Committee ईएसी-ले नयाँ बाँधको सम्भाव्यता अनि सुरक्षाको मूल्यांकन गर्नका लागि एउटा उप-समिति पनि गठन गरेको थियो। उक्त उप-समितिको एउटा टोलीले बाँध निर्माणको सम्भावनालाई लिएर 2024 –को दिसम्बर महिनामा  चुङथाङ क्षेत्रको भ्रमण पनि गरेको थियो। सोही भ्रमणपछि नै गत 10 जनवरीको दिन मेसर्स सिक्किम ऊर्जाको नयाँ बाँध निर्माणको प्रस्तावलाई पर्यावरण मन्त्रालयले स्वीकृति दिएको बताइन्छ।
समितिले यो नयाँ बाँधका लागि शर्तहरू पनि निर्धारित गरेको छ, जसमा पूर्व चेताउनी प्रणालीको स्थापना अनि हिमनदी तथा झील अनि पैह्रोग्रस्त स्थलहरूको मानचित्रण पनि सामेल छन्। यद्यपि, यो नयाँ बाँधको डिजाइनका पक्षहरूलाई अहिले केन्द्रिय जल आयोग (सीडब्ल्यूसी), भारतीय भूवैज्ञानिक सर्वेक्षण (जीएसआई)सहित अन्य केन्द्रिय पक्षहरूबाट अनुमोदित गरिइनु बाँकी नै छ।
उल्लेखनीय छ, सन् 2017 -मा टिस्टा ऊर्जा बाँध परियोजना चालू भएको हो। 
टिस्टा ऊर्जा बाँध निर्माणकार्यलाई लिएर विगतमा तत्कालिन एसडीएफ सरकारमाथि भ्रष्टाचारका आरोपहरू नलागेको भने होइन। बाँध निर्माण कार्यको गुणस्तरमाथि प्रश्नहरू पनि उठेकै हुन्। तथापि, 2023 –को टिस्टा त्रासदीपछि ध्वंस बनेको चुङथाङको टिस्टा चरण 3 –को टिस्टा ऊर्जा बाँध पुननिर्माण वर्तमान एसकेएम सरकारबाट सम्भव छैन भन्ने मतहरू उठिरहेका बेला पर्यावरण मन्त्रालयले नयाँ बाँध निर्माणलाई स्वीकृति दिएको छ।
अर्कोतिर, मन्त्रालयको स्वीकृतिलाई लिएर सिक्किम भाजपाले विरोध जनाउँदै यो हतारको निर्णय रहेको बताएको छ। सिक्किम भाजपाका प्रवक्ता पासङ शेर्पा अनि मीडिया प्रभारी निरेन भण्डारीले 28 जनवरी मंगलवार संयुक्त रूपमा एउटा विज्ञप्ति जारी गर्दै  सम्भावित अधिकतम बाढी मूल्याङ्कनसहित महत्वपूर्ण अध्ययनहरू पूरा नगरिएको आरोप लगाउँदै मन्त्रालयले नयाँ कंक्रिट गुरुत्वाकर्षण बाँधको प्रस्तावमाथि स्वीकृति जनाएकोमा आपत्ति जनाएको छ। यसका साथै, परियोजना स्वीकृति तुरुन्तै फिर्ता लिइनुपर्ने, बाँध निर्माणमाथि सार्वजनिक सुनवाइ हुनुपर्ने तथा सिक्किमको संवैधानिक सुरक्षाको पालना गर्नुपर्ने पनि सिक्किम भाजपाले माग गरेको छ।


Leave a Comment