loader

Breaking News

पश्चिम सिक्किममा पहिरोमा परेर पञ्चायत सभापतिको मृत्यु

Image
 

पश्चिम सिक्किममा लगातार वर्षासँगै पहिरोका कारण तीन दिनभित्र चारजनाको मृत्यु भएको छ। शनिबार साँझ लगभग 7 बजे घर नजिकै झरेको पहिरोको चपेटामा आएर 47 वर्षीय राजेन गुरुङले ज्यान गुमाएका छन्।
घटना मानेबुङ–देन्ताम विधानसभा क्षेत्रअन्तर्गत पर्ने सर्दुङ–लुङजिक ग्राम पञ्चायतको हो। जानकारीअनुसार लगातार पानी परेपछि घर नजिकै भल निकासी गराउने क्रममा उनलाई माथिबाट झरेको पहिरोले पुरेको थियो। पछि स्थानीय मानिसहरूको सहयोगमा उद्धार कार्य भएपनि उनी जीवित रहन सकेनन्। राजेन गुरुङ यसै ग्राम पञ्चायत युनिटका सभापति थिए। 
पञ्चायत सभापति राजेन गुरुङको निधनप्रति मुख्यमन्त्री पीएस गोलेले गहिरो शोक व्यक्त गरेका छन्। उनले स्व. गुरुङलाई एक समर्पित जनप्रतिनिधि र समाजसेवीको रूपमा स्मरण गर्दै उनको समाज र जनकल्याणप्रतिको योगदान सदैव स्मरणीय रहने बताएका छन्। मुख्यमन्त्रीले सरकार र प्रशासन मृतकको परिवारसँग एकताबद्ध रहेको र तत्कालीन सहयोग उपलब्ध गराइने आश्वासन दिएका छन्।
जानकारी गराइन्छ, दुई दिनअघि पश्चिम सिक्किमको गेजिङ जिल्लास्थित अप्पर रिम्बी क्षेत्रमा गएको पहिरोमा 3 जनाको ज्यान गएको थियो भने एकजना 7 वर्षीय बालकलाई अद्भुत रूपमा जीवितै उद्धार गरिएको थियो।

 


Leave a Comment