सिक्किमको गान्तोकस्थित राजभवनमा राज्यपाल ओमप्रकाश माथुरको एक वर्षीय सफल कार्यकालको उपलक्ष्यमा आयोजना गरिएको 'उत्कर्ष उत्सव' कार्यक्रममा मुख्यमन्त्री पीएस गोलेले उपस्थिति जनाए। उक्त कार्यक्रममा मुख्यमन्त्रीले राज्य सरकार र सम्पूर्ण सिक्किमवासीको तर्फबाट राज्यपाललाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे। उनले विगत एक वर्ष राज्य सरकारका लागि गौरवको क्षण रहेको बताउँदै राज्यपालको दूरदर्शिता र अनुभवयुक्त व्यक्तित्वका नेतृत्वमा कार्य गर्ने अवसर प्राप्त भएकोमा कृतज्ञता प्रकट गरेका छन्।
यसअतिरिक्त मुख्यमन्त्रीले राज्यपालको संवैधानिक मूल्य एवम् समर्पणको प्रशंसा गर्दै राज्यपालको कुशल नेतृत्वमा राज्यका लोकतान्त्रिक संस्थाहरू अझ सुदृढ बनेको बताए। उनले राज्यपालको विनम्रता, ज्ञान र करुणालाई उल्लेख गर्दै ती गुणहरूले प्रशासनिक शासन र सिक्किमको सामाजिक एवम् सांस्कृतिक विकासमा सकारात्मक प्रभाव पारेको पनि बताए।
यसका साथै कार्यक्रममा राज्यपालद्वारा प्रारम्भ गरिएको ‘गाउँमा राज्यपाल’ जस्ता पहलहरूको प्रशंसा गर्दै यस पहलले राजभवनलाई ग्रामीणस्तरसम्म जोड्न सफल रहेको उल्लेख गरे। राज्यपालको “सशक्त महिला, सशक्त राष्ट्र” नामक दूरदर्शी सोच एवम् पहलमा महिलाहरूको योगदानको प्रशंसा गरे। जुन राज्य र राष्ट्रका लागि प्रेरणादायी सन्देश बन्ने विश्वास गरिएको छ।
यसै सन्दर्भमा बालबालिकालाई राष्ट्रको भविष्य निर्माताका रूपमा हेरिने राज्यपालको दृष्टिकोणलाई मुख्यमन्त्रीले उल्लेख गरे। शिक्षा, अनुशासन र नैतिक विकासमा राज्यपालको रुचिको प्रशंसा गर्दै उनले राष्ट्रिय गौरव, वातावरण संरक्षण, जैविक कृषि तथा भारतीय सेनाप्रतिको सम्मानलाई राज्यपालको मुख्य प्राथमिकतामा रहेको बताए।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्रीले राज्यपालको उपस्थितिले ग्रामीण समुदायमा आशा, युवामा आत्मविश्वास र प्रशासनिक विकासमा कुशल मार्गदर्शन प्रदान गरेको बताए।
राज्यपालको एक वर्षीय सफल कार्यक्रमको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति विश्वनाथ सोमद्दर, विधानसभा अध्यक्ष एमएन शेर्पा, विभिन्न विभागका प्रमुख अधिकारीगण, पदाधिकारीगणलगायत विभिन्न विद्यालयका विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
Leave a Comment