सिक्किमको पाकिम जिल्लाको रम्फूस्थित खेल मैदानमा मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्र एवम् समितिको सिक्किम राज्य समितिद्वारा आयोजित दुई दिवसीय सद्भावना सम्मेलनमा सतपालजी महाराज, विभुजी महाराज तथा सिक्किम सरकारकामुख्यमन्त्री प्रेमसिंह तामाङले अध्यात्म, मानवता, राष्ट्रिय एकता, सद्भावना र विश्वशान्तिको महत्त्वमाथि पारे मानव उत्थान सेवा समितिको आयोजनामा सम्पन्न उक्त सम्मेलनले आध्यात्मिक चेतनाको जागरणसँगै समाजमा प्रेम, भाइचारा, सहिष्णुता र पारस्परिक सद्भाव अभिवृद्धि गर्ने सन्देश प्रवाह गरेको छ।
समारोहको शुभारम्भ दीप प्रज्वलन तथा अखण्ड ज्योति प्रज्वलनबाट गरिएको थियो। कार्यक्रममा सद्गुरुदेव सतपालजी महाराज, विभुजी महाराज, समारोहका प्रमुख अतिथि सिक्किम सरकारका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोले तथा अन्य विशिष्ट अतिथिहरूलाई माल्यार्पण र पुष्पगुच्छद्वारा स्वागत गरिएको थियो। त्यसैगरी मुख्यमन्त्री तथा अन्य विशिष्ट अतिथिहरूले सद्गुरुदेव महाराजजीप्रति माल्यार्पण गरी सम्मान प्रकट गरे।
सम्मेलनलाई सम्बोधन गर्दै विभुजी महाराजले युवाहरूलाई आध्यात्मिक क्रान्तिमा सहभागी भई राष्ट्रिय एकता, सद्भावना र मानव कल्याणको भावनासहित राष्ट्र निर्माणमा योगदान पुर्याउन आह्वान गरे। उनले युवाशक्ति राष्ट्रको अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै युवाहरूमा सकारात्मक सोच, नैतिक मूल्य, अनुशासन, सेवा भावना र आध्यात्मिक चेतनाको विकास हुन आवश्यक रहेको कुरो बताए।
बिभूजी महाराजका अनुसार राष्ट्रको समृद्धि केवल भौतिक विकास र आर्थिक उन्नतिमा मात्र सीमित हुँदैन; त्यसका लागि नागरिकको चरित्र निर्माण, मानवीय संवेदना, आपसी विश्वास र सामाजिक उत्तरदायित्व पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्। आध्यात्मिक ज्ञानले मानिसलाई आफ्नो वास्तविक स्वरूप बुझ्न, अरूको सम्मान गर्न र समाजप्रति जिम्मेवार बन्न प्रेरित गर्दछ। यसैले युवाहरूले आपसी मतभेद र विभाजनभन्दा माथि उठेर एकता, सद्भाव र मानवताको मार्ग अवलम्बन गर्नुपर्ने उनले बताए
विभुजी महाराजले युवाहरूमा आध्यात्मिक चेतना जागृत भएमा उनीहरू व्यक्तिगत जीवनमा अनुशासित बन्नुका साथै समाजमा सकारात्मक परिवर्तनका संवाहकसमेत बन्न सक्ने धारणा व्यक्त गरे। मानव सेवाको भावनालाई आत्मसात् गर्दै राष्ट्रको सामाजिक तथा सांस्कृतिक एकता सुदृढ बनाउन युवाहरू अग्रसर हुनुपर्ने उनको सन्देश थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सिक्किम सरकारका मुख्यमन्त्री एवम् सम्मेलनका प्रमुख अतिथि प्रेमसिंह तामाङले परम पूज्य सद्गुरुदेव श्री सतपालजी महाराजले अध्यात्मको माध्यमबाट सिक्किमका जनतामाझ पुर्याउँदै आएका असीम कृपा, आशीर्वाद र आध्यात्मिक सन्देशप्रति हार्दिक आभार व्यक्त गरे
उनले सद्गुरुदेव महाराजजीको उपस्थितिले मानिसहरूमा आध्यात्मिक चेतना, नैतिक मूल्य र मानव सेवाप्रतिको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण प्रेरणा मिलेको कुरो व्यक्त गरे। समाजमा शान्ति, प्रेम र सद्भाव कायम राख्न आध्यात्मिक शिक्षाको भूमिका उल्लेखनीय रहने बताउँदै यस्ता सम्मेलनले विभिन्न समुदायबीच आपसी समझदारी, एकता र भाइचाराको भावना बलियो बनाउन सहयोग पुर्याउने धारणा राखे। प्रमुख अतिथिले भौतिक समृद्धिले स्थायी परम शान्ति र आनन्द प्राप्त हुन नसक्ने परम शान्ति केवल अध्यात्मद्वारा मात्र सम्भव हुने कुरो जनाए उनले श्री महाराज जस्ता आध्यात्मिक महान् पुरुष जस्ता व्यक्तित्वले राजनीतिमा संलग्न भई जन सेवाको कार्य गरिरहनु भएको कुरोमा खुशी व्यक्त गर्दै महाराजजी जस्ता महा मानवहरु राजनीतिमा नेतृत्व दिनुभए देश समृद्ध बन्ने कुरो बताए।
मुख्यमन्त्रीले आध्यात्मिक मूल्य र मानवीय संवेदनालाई जीवनमा आत्मसात् गर्दै समाजको समग्र विकासमा अघि बढ्नुपर्ने सन्देश दिए। भौतिक विकाससँगै नैतिकता, अनुशासन, सामाजिक उत्तरदायित्व र मानवीय सद्भावलाई पनि महत्त्व दिन सके मात्र समृद्ध तथा शान्त समाज निर्माण गर्न सकिने भाव उनको सम्बोधनमा अभिव्यक्त भएको थियो। साथै, सद्गुरुदेव सतपालजी महाराजले सिक्किमको जनसमुदायमा पुर्याउँदै आउनुभएको आध्यात्मिक मार्गदर्शनप्रति उनले पुनः कृतज्ञता प्रकट गरे।
सम्मेलनको प्रमुख आकर्षणका रूपमा सतपालजी महाराजको प्रवचन रहेको थियो। आफ्नो आध्यात्मिक सम्बोधनमा उनले विश्वमा स्थायी शान्ति स्थापना गर्न अध्यात्मको भूमिका अपरिहार्य रहेको बताए। मानव समाजमा देखिने द्वन्द्व, असहिष्णुता, विभाजन र अशान्तिलाई न्यूनीकरण गर्न मानिसले आफ्नो अन्तरचेतनालाई जागृत गर्दै प्रेम, करुणा, सहिष्णुता र मानवताको मार्ग अपनाउनुपर्ने सन्देश दिए।
महाराजजीले भारतको आध्यात्मिक परम्परा र ज्ञानको महत्त्वमाथि प्रकाश पार्दै आध्यात्मिक ज्ञानका दृष्टिले भारत विश्वको गुरु बन्न सक्ने धारणा व्यक्त गरे। उनले भौतिक ज्ञान र आध्यात्मिक ज्ञान एकअर्काका परिपूरक भएको उल्लेख गर्दै यी दुवैको समन्वयबाट मात्र मानव समाजको चौतर्फी विकास सम्भव हुने बताए।
उनका अनुसार विज्ञान, प्रविधि र भौतिक उपलब्धिले मानव जीवनलाई सहज र सुविधासम्पन्न बनाउन सक्छन्; तर ती उपलब्धिलाई मानवीय हितमा उपयोग गर्न नैतिकता, विवेक र आध्यात्मिक चेतना आवश्यक हुन्छ। मानिसले बाह्य संसारको विकाससँगै आफ्नो अन्तरमनलाई पनि परिष्कृत गर्न सकेमा मात्र व्यक्तिगत जीवन, सामाजिक सम्बन्ध र विश्वव्यापी सहअस्तित्वमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ महाराजजीले आध्यात्मिक ज्ञानले मानिसलाई मानवताको साझा सूत्रमा बाँध्न सहयोग पुर्याउने उल्लेख गर्दै सबैलाई आध्यात्मिक जागरणतर्फ अग्रसर हुन आह्वान गरे। जाति, भाषा, क्षेत्र र अन्य सामाजिक भिन्नताभन्दा माथि उठेर मानवतालाई प्राथमिकता दिन सकेमा समाजमा एकता र विश्वमा शान्तिको वातावरण निर्माण गर्न सकिने उनको सन्देश थियो।
उनको प्रवचनले आध्यात्मिकतालाई केवल व्यक्तिगत साधनाको विषयका रूपमा नभई सामाजिक सद्भाव, मानवीय एकता र विश्वशान्ति स्थापनाको आधारका रूपमा बुझ्नुपर्ने कुरो महाराजजीले आह्वान गरेका थिए। सम्मेलनको समापन भोलि ११ अक्टोबरको दिन अपरान्हमा हुनेछ।


Leave a Comment