द हिमाल वर्ल्ड
सिलगढी, 28 जनवरी, 2025
धेरै वर्षको प्रतीक्षापछि अन्ततः सेवोकमा टिस्टा नदीमाथि दोस्रो बाघपुल निर्माण हुने भएको छ। पश्चिम बंगाल सरकारले बाघपुल अर्थात कोरोनेशन ब्रिजको वैकल्पिक ब्रिज निर्माण गर्ने योजनालाई सहमति जनाएको छ।
बाघपुलको विकल्पका लागि केन्द्रले कोष स्वीकृत गरेको चार वर्षपछि बंगाल सरकारले सेवोकमा टिस्टा नदीमाथि दोस्रो पुल निर्माण गर्न सहमति दिएको हो। केन्द्रले 2021 मा टिस्टामाथि नयाँ पुल निर्माण गर्न 1000 करोड रूपियाँ स्वीकृत गरेको थियो। यद्यपि, राज्य सरकारबाट आवश्यक सहमति भने भएको थिएन। तर, अहिले आएर चार वर्षपछि बंगाल सरकारले यो परियोजनालाई सहमति जनाएपछि राज्य पीडब्ल्यूडीले चाँडै नै डीपीआर तयार गरेर सडक परिवहन तथा राजमार्ग मन्त्रालयमा सुम्पिने भएको छ।
उल्लेखनीय छ, देश स्वतन्त्र हुनुअघि नै टिस्टा नदीमा बनिएको बाघपुल डुवर्ससँगै उत्तरपूर्वी भारतको प्रमुख जीवन रेखाको रूपमा लिइन्छ। भारत-चीन सीमामा सेनाका लागि रक्षा उपकरणहरूको आपूर्तिलगायतका क्रियाकलापहरू पनि यसै मार्ग भएर हुने भएकाले सुरक्षा एवम् रणनीतिक दृष्टिकोणले पनि यो पुल धेरै महत्त्वपूर्ण मानिन्छ। तर, उक्त पुल निर्माण भएको 80 वर्ष बितिसक्दा पनि यसको वैकल्पिक पुल निर्माणतर्फ भने राज्य सरकारले उत्ति चासो नदेखाएको गुनासो उठ्दै आइरहेको थियो। विगत वर्षहरूमा बाघपुलको वैकल्पिक पुल निर्माणका लागि आवाजहरू नउठेका भने होइनन् अनि टिस्टामा वैकल्पिक पुलका लागि केन्द्र सरकारबाट धनराशि आवण्टन पनि गरिएकै हो। तर, राज्य सरकारको ढिल्याइँको कारण आजसम्म यो परियोजना अघि बढ्न सकेको थिएन। तथापि अन्त्यमा गएर केन्द्र सरकारले कोष स्वीकृत गरेको चार वर्षपछि बंगाल सरकारले सेवोकस्थित टिस्टा नदीमा नयाँ वैकल्पिक पुल निर्माण गर्न सहमत बनेको छ। यसैबीच प्रस्तावित नयाँ पुल निर्माणको अनुमानित लागत 1100 करोड रुपियाँभन्दा धेर हुने पीडब्ल्यूडी विभागीय सूत्रबाट थाहा लागेको छ।
स्मरण रहोस्, सिलगढीबाट लगभग 20 किलोमिटरको दुरीमा अवस्थित सेवोकमा रहेको यो पुरानो बाघपुलको निर्माण सन् 1941 मा भएको थियो। यसले डुवर्स र उत्तरपूर्वी भारतलाई देशका अन्य भागसँग जोड्दछ। गत केही वर्षहरूमा यस पुललाई धेरै क्षति पुगेको छ। वाहनहरूको भार दिनहुँ बढ्दै गएकोले अनि यातायातमा उल्लेखनीय वृद्धि भएकोले यसको विकल्पको रूपमा अर्को पुल बनाइनु पर्ने माग धेरै अघिदेखि हुँदै आएको हो। सिक्किमको चीन सीमाबाट नजिक भएकोले यो पुल रणनीतिक रूपमा पनि धेरै महत्त्वपूर्ण छ।
टिस्टा नदीमाथि वैकल्पिक पुल निर्माणका लागि दार्जीलिङ, तराई-डुवर्सका निर्वाचित प्रतिनिधिहरूलगायत डुवर्सवासीले धेरै अघिदेखि माग गर्दै आइरहेका छन्। सिलगढी-सिक्किम, दार्जीलिङलगायतका क्षेत्रबाट सोझै डुवर्स जानका लागि बाघपुल छोटो र सुगम विकल्प रहेकोले प्रायः मानिसहरू यही मार्ग भएर यातायात गर्ने गर्दछन्। जसको कारण यहाँ दिनहुँ जामको समस्या उत्पन्न हुने गर्दछ। घण्टौँ घण्टौँसम्म जाममा बस्नु परेको अवस्था पनि डुवर्सवासीले भोग्दै आएको हो। तर अब वैकल्पिक पुल निर्माण भएपछि यातायात दुरी कम हुने तथा जामको समस्याबाट पनि मानिसहरूले निजात पाउने छन्।
अर्कोतिर सूत्रअनुसार यो परियोजनाका लागि राज्य सरकारका शीर्ष अधिकारीहरूले हालै वन तथा वातावरण विभागका अधिकारीहरूसँग वातावरणीय स्वीकृति प्राप्त गर्न बैठकहरू गरेका थिए। यी स्वीकृतिहरू प्राप्त भएपछि नै राज्य सरकारले आफ्नो स्वीकृति दिएको बताइएको छ। यो वैकल्पिक पुल निर्माणलाई केन्द्र सरकारले अघिबाटै स्वीकृति दिएकोले अब यो परियोजनाको काम चाँडै हुने आशा गरिएको छ।
Leave a Comment