loader

Breaking News

विशेष रुपले सक्षम विद्यार्थीका लागि स्टेट युथ तथा स्कूल समिट आयोजित

Image
 


स्पेशल ओलम्पिक भारत सिक्किम च्याप्टरले रेवा स्पेशल स्कूल फर डिसएबिलिटीज, स्यारीको सहयोगमा स्टेट युथ तथा स्कूल समिट 2025 शुक्रबार आयोजना गर्यो। कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नी शारदा तामाङ मुख्य अतिथि रहेकी थिइन्।
समारोहमा स्यारी निर्वाचन क्षेत्रका विधायक तेञ्जिङ नर्बु लाम्टा, मुख्यमन्त्रीका सल्लाहकार टी.एन. ढकाल, संस्कृति विभागकी अध्यक्ष भीम कुमारी शर्मा, स्पेशल ओलम्पिक भारत सिक्किमका अध्यक्ष कुबेर चन्द्र दाहाल, एरिया डाइरेक्टर गणेश चन्द्र खनाल, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङजन कल्याण विभागकी सचिव लगायत विभिन्न विद्यालयका विशेष क्षमता भएका विद्यार्थी र शिक्षकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै एरिया डाइरेक्टर गणेश चन्द्र खनालले हाल सिक्किमका 3 वटा स्पेशल स्कूलमा करिब 100 विद्यार्थी र सरकारी विद्यालयमा 1000 विशेष क्षमता भएका विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए। उनले सिक्किममा करिब 18,000 विशेष क्षमताका बालबालिका हुनसक्ने अनुमान गर्दै तिनीहरूलाई विद्यालयमा भर्ना गर्न चुनौती रहेको भन्दै सरकारलाई अझ सक्रिय पहल गर्न सुझाव दिए।
रेवा स्पेशल स्कूलका प्रधानाध्यापक गायत्री थापाले विद्यालय 1993 मा गैरसरकारी संस्थाका रूपमा स्थापना भएको स्मरण गर्दै, वर्तमान सरकारले 2020 मा यसलाई विभागीय संरचनामा समावेश गरी सरकारी विद्यालयको मान्यता दिएको बताइन्। उनले 2024 मा कर्मचारीहरूलाई सरकारी सेवामा समावेश गरिदिएकोप्रति सरकारप्रति आभार व्यक्त गरिन्।
सो अवसरमा अध्यक्ष कुबेर चन्द्र दाहालले संस्थाका गतिविधि र समस्यामाथि प्रकाश पार्दै, मुख्य संरक्षकको रूपमा शारदा तामाङ र विधायक लाम्टालाई साथ दिन आग्रह गरेका थिए जसलाई उनीहरूले स्वीकार गरेका छन्।
आफ्नो सम्बोधनमा विधायक तेञ्जिङ नर्बु लाम्टाले विद्यालय स्थापना गर्ने परिवारलाई धन्यवाद दिँदै विशेष क्षमता भएका विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने खालका कार्यक्रम महत्वपूर्ण हुने बताए। उनले विद्यालयमा स्मार्ट क्लास, डिजिटल प्लेटफर्म, सहज पूर्वाधार तथा खुला वातावरण उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याउँदै खेल क्षेत्रमा विशेष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
मुख्य संरक्षकको रूपमा जिम्मेवारी स्वीकार गरेकी शारदा तामाङले विशेष क्षमता भएका बालबालिकालाई शिक्षा दिन शिक्षकहरूले गरेको समर्पणप्रति प्रशंसा गरिन्। उनले विद्यालयका समस्या मुख्यमन्त्री र सरकार समक्ष राख्ने प्रतिबद्धता जनाउँदै, विद्यार्थीका लागि सुविधायुक्त पूर्वाधार र खेल्ने स्थान उपलब्ध गराउन सहयोग गर्ने वचन दिइन्। साथै, उनले नानीहरूलाई निरन्तर प्रयास गर्दै अघि बढ्न प्रेरित गरिन् साथै विशेष रुपले सक्षम विद्यार्थी र उनीहरूका अभिभावकलाई “मनलाई अपाङ्ग नबनाउन” आग्रह गरिन्।
कार्यक्रममा रेवा स्पेशल स्कूलका साथै अन्य विद्यालयका विद्यार्थीहरूले आफ्ना क्षमता र प्रतिभा प्रस्तुत गरेका थिए। आयोजक पक्षले सबै सहभागी विद्यार्थीलाई प्रमाणपत्र वितरण गरे।


Leave a Comment