loader

सिक्किमको जुममा अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता शुरु

Image
 

सिक्किममा साहसिक खेलकुद तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सोरेङ जिल्लाको जुमस्थित रक गार्डनमा आइतबार अन्तर्राष्ट्रिय माउन्टेन बाइक डाउनहिल प्रतियोगिता ‘जबारवान एक्स्ट्रिम लेजेन्ड्स सिरिज २०२६’ शुरु भएको छ। मुख्यमन्त्री पीएस गोलेले प्रतियोगिताको पहिलो चरणको उद्घाटन गर्दै खेलाडीहरूलाई प्रस्थान सङ्केत दिए।

जबारवान एक्स्ट्रिम र जुम ग्राम पञ्चायतको सहकार्यमा आयोजित प्रतियोगितामा भारतसहित इरान, अस्ट्रेलिया, ब्राजिल, इटाली, चेक रिपब्लिक, ताइवान र नेपालका खेलाडी सहभागी छन्। अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूको सहभागिताले जुमलाई साहसिक खेलकुदको नयाँ गन्तव्यका रूपमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतियोगितामा पाँच पटकका राष्ट्रिय च्याम्पियन तथा गत वर्षका विजेता डगलस भिएरा, माटेइ चार्भाट र आठ पटकका माउन्टेन बाइक विश्व च्याम्पियन सामुएल हिल्ससहितका चर्चित खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। चुनौतीपूर्ण पहाडी भूभागमा आयोजना गरिएको डाउनहिल प्रतियोगिताले खेलाडीको गति, सीप र साहसको परीक्षा लिनेछ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गोलेले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुनु जुम–सालघारी क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको बताए। उनले यस प्रकारका प्रतियोगिताले साहसिक पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय अर्थतन्त्र र रोजगारीका अवसर विस्तार गर्न मद्दत पुग्ने उल्लेख गरे। प्रतियोगितालाई वार्षिक कार्यक्रमका रूपमा निरन्तरता दिँदै जुमलाई अन्तर्राष्ट्रिय साहसिक खेलकुदको नक्सामा स्थापित गर्ने आफ्नो अपेक्षा रहेको उनले बताए।

मुख्यमन्त्रीले क्षेत्रको पर्यटन सम्भावना उजागर गर्न सडक स्तरोन्नति तथा पर्यटन पूर्वाधार विकासमा सरकार प्रतिबद्ध रहेको पनि बताए। उनले पिकक पार्कको विकास, जुम सडकको स्तरोन्नति र स्थानीय किसानका उत्पादनलाई बजार उपलब्ध गराउने ‘गाउँले हाट’ जस्ता पहलले क्षेत्रको विकासमा योगदान पुर्‍याउने उल्लेख गरे।

प्रतियोगितासँगै रक गार्डेनमा सांस्कृतिक तथा सांगीतिक प्रस्तुति, रक क्लाइम्बिङ र सात स्वयं सहायता समूहका उत्पादनका प्रदर्शनीसमेत आयोजना गरिएको थियो। यसले स्थानीय संस्कृति, उत्पादन तथा उद्यमशीलतालाई प्रवर्द्धन गर्ने अवसर प्रदान गरेको छ।

२०२५ मा कश्मीर, असम र मेघालयमा आयोजना गरिएको जबारवान एक्स्ट्रिम लेजेन्ड्स सिरिजको २०२६ संस्करण सिक्किमबाट शुरु भएको हो। सिक्किमपछि प्रतियोगिता लद्दाख र महाराष्ट्रमा आयोजना गरिनेछ।


Leave a Comment