loader

सिक्किम अकादमीद्वारा ‘पाण्डुलिपि पुरस्कार २०२६–२७’ –को घोषणा

Image
 

सिक्किम अकादेमीले सिक्किमेली साहित्यको अभिव्यक्ति, गुणस्तर र स्तर अभिवृद्धि गर्ने उद्देश्यले ‘पाण्डुलिपि पुरस्कार २०२६–२७’ घोषणा गरेको छ। यसअन्तर्गत नेपाली, हिन्दी र अंग्रेजी भाषामा लेखिएका अप्रकाशित पाण्डुलिपिहरूलाई प्रतियोगितामा सहभागी गराउन सकिनेछ। चयनित उत्कृष्ट पाण्डुलिपिहरूलाई नगद पुरस्कार प्रदान गर्नुका साथै अकादेमीले पुस्तकका रूपमा प्रकाशित पनि गर्नेछ।

अकादेमीले आज पत्रकार सम्मेलन गरेर सिक्किमेली समाजको इतिहास, परम्परा, संस्कृति, कला, समालोचना तथा निबन्धलगायतका विषयमा गरिएका सूक्ष्म र गहन अध्ययनलाई प्राथमिकता दिने जनाएको छ। लेखकहरूले आफ्ना पीएचडी शोधकार्यलाई पनि प्रकाशनयोग्य पुस्तकका रूपमा पुनर्लेखन गरेर प्रतियोगितामा सहभागी गराउन सक्नेछन्। यद्यपि, पूर्ण रूपमा शैक्षिक शैलीमा लेखिएका शोधग्रन्थ स्वीकार गरिने छैनन्।

सिक्किमका बासिन्दा तथा सिक्किमलाई कर्मथलो बनाएर बसोबास गरिरहेका लेखकहरूले प्रतियोगितामा भाग लिन सक्नेछन्। शिक्षक, शोधकर्ता, विद्यार्थी तथा अन्य पेसामा संलग्न व्यक्तिहरू पनि यसका लागि योग्य हुनेछन्।

प्रतियोगिताका लागि पाण्डुलिपि पूर्ण रूपमा अप्रकाशित हुनुपर्नेछ। यसअघि प्रकाशनका लागि सिक्किम अकादेमीमा बुझाइएका पाण्डुलिपिहरूलाई पनि प्रतियोगितामा समावेश गरिनेछ। तर, प्रतियोगितामा सहभागी हुन सम्बन्धित लेखकले पुनः प्रवेश शुल्क बुझाउनुपर्नेछ।

अकादेमीद्वारा नियुक्त पुस्तक चयन समितिले पाण्डुलिपिको गुणस्तर, प्रासङ्गिकता र विषयवस्तुको गहनताका आधारमा प्रथम र दोस्रो कृति चयन गर्नेछ। चयनित कृतिलाई नगद पुरस्कार प्रदान गरिनेछ र अकादेमीले प्रकाशितसमेत गर्नेछ। प्रकाशित पुस्तकको १०० प्रति सम्बन्धित लेखकलाई उपलब्ध गराइनेछ। विवादास्पद लेखनलाई प्रतियोगितामा स्वीकार गरिने छैन।

प्रतियोगितामा सहभागी हुने पाण्डुलिपि न्यूनतम २०० देखि अधिकतम २५० पृष्ठसम्मको हुनुपर्नेछ। लेखकले ए–४ आकारको कागजमा प्रिन्ट गरिएको पाण्डुलिपि कम्तीमा तीनपटक प्रुफ जाँच गराएर प्रवेशपत्रसहित अकादेमीको कार्यालयमा बुझाउनुपर्नेछ। यसका लागि १,००० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ।

पाण्डुलिपि बुझाउने अन्तिम मिति आगामी वर्षको अक्टोबर ३० तोकिएको छ। प्रतियोगितामा सहभागी भइसकेका पाण्डुलिपिहरू आगामी वर्षको प्रतियोगिताका लागि योग्य हुने छैनन्।

अकादेमीले चयन गरेको पाण्डुलिपि प्रकाशनका लागि निर्धारित मापदण्डअनुरूप नभए पुस्तक प्रकाशित नगरिने पनि स्पष्ट पारेको छ। अप्रकाशित पाण्डुलिपि फिर्ता लिन चाहने लेखकले अकादेमीको कार्यालयमा उपस्थित भएर आफ्नो पाण्डुलिपि फिर्ता लैजान सक्नेछन्।


Leave a Comment