loader

Breaking News

एसकेएम विधायक दलको बैठक सम्पन्न : मुख्यमन्त्रीले गरे विधायकहरूलाई सिक्किम निर्माणमा प्रतिबद्ध हुन आग्रह 

Image
 

द हिमाल वर्ल्ड
सिक्किम, 29 जनवरी


सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम विधायक दलको बैठकले राज्य र राज्यवासीको हितमा केही महत्त्वपूर्ण निर्णयहरू दिएको छ। मंगलबार पार्टी अध्यक्ष तथा मुख्यमन्त्री पीएस गोलेको अध्यक्षतामा सम्मान भवनमा एसकेएम विधायक दलको चौथो बैठक बसेको थियो। जसमा यी निर्णयहरू लिएको बताइएको छ। पार्टीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार विधायक दलको बैठकमा पार्टीले आफ्नो 13औँ स्थापना दिवसलाई महत्त्वपूर्ण रूपमा मनाउनु पर्ने कुरामा पार्टी अध्यक्षले जोर दिएका थिए। जानकरी गराइन्छ, एसकेएम पार्टीले 13औँ स्थापना दिवसको अवसरमा आगामी 4 फरवरीको दिन राज्यका प्रत्येक निर्वाचन क्षेत्रमा कार्यक्रम आयोजन गर्ने भएको छ। 
राज्यवासीका हितमा छलफल गरिएका महत्त्वपूर्ण विषयहरूमा सिक्किममा अनावश्यक रूपमा प्रवेश गरिरहेका कामदारहरू रहेका थिए। राज्य बाहिरबाट आउने मानिसहरू कामदारका रूपमा अहिले सिक्किमका गाउँ-गाउँमा पुगिरहेको विषयमाथि चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री पीएस गोलेले यस्ता मानिसहरूमाथि निगरानी गर्नका लागि ग्राम पञ्चायत स्तरमा अस्थायी रूपमा वर्क पर्मिट प्रणाली लागु गर्नुपर्ने बताएका थिए, जसलाई विधायक दलको बैठकले पारित गरेको छ। यसरी नै सिक्किममा ट्रेड लाइसेन्सको सब्लेटिङ पनि एउटा पुरानो मुद्दा हो। यो प्रथालाई उन्मूलन गर्नु सरकारको प्रतिबद्धता रहेको बताउँदै मुख्यमन्त्री गोलेले यसलाई कडाइका साथ लागू गर्नुपर्ने कुरामा जोर दिएका थिए। ट्रेड लाइसेन्स सब्लेटिङले सिक्किमको आर्थिक निकासी मात्र नभएर रोजगारीका अवसरहरूमा पनि बाधा भइरहेकोले यसलाई रोक्ने साथै स्थानीय कौशल विकास र जनशक्तिको उपयोगमा वृद्धि गरिइने एकसेएम विधायक दलको बैठकमा चर्चा भएको बताइएको छ। 
राज्यभरि स्वच्छता र सर-सफाइलाई कायम गर्ने बारेमा पनि विधायक दलको बैठकमा चर्चा भयो । मुख्यमन्त्री पीएस गोलोले विशेष गरेर सिक्किम सरकारको विभिन्न विभागका अधिकारीहरू र सरकारी विभागलाई सार्वजनिक स्थल साथै सरकारी कार्यलय परिसरमा उच्च स्तरको सर-सफाइ सुनिश्चित गर्न आग्रह गर्दै आएका छन्। स्वच्छता र सर-सफाईलाई सरकारको वृहत विकास दृष्टिकोणको एउटा भागको रूपमा लिएर सबैले काम गर्नुपर्ने बैठकमा चर्चा भएको छ। 
यस बैठकमा निर्वाचन क्षेत्र स्तरको आगामी योजना र विकास निर्धारण गर्नका लागि योजना तथा विकास बोर्ड गठन गर्नेबारे पनि छलफल भयो। सिक्किम सरकारले यसका लागि राज्यस्तरीय विकास बोर्ड गठन गर्ने भएको छ। जसले आर्थिक योजना अनुगमन र विकासमा ध्यान दिने छ। यसको अधीनमा निर्वाचन क्षेत्र स्तरमा गठन गरिइने विकास तथा योजना बोर्डले क्षेत्र स्तरको गतिविधिहरूको निरीक्षण पनि गर्नेछ। 
मुख्यमन्त्री तथा एसकेएम अध्यक्ष पीएस गोलेले एसकेएम पार्टीको कार्यप्रणालीलाई मजबुत बनाउन पार्टीको संरचनागत नियुक्तिहरू सबै निर्वाचन क्षेत्रहरूमा चाँडै गरिइने विधायक दलको बैठकमा जानकारी गराएका थिए। उनले सबै विधायकहरूलाई राज्यका जनताको सबै पक्षको हितका लागि अथक परिश्रम गर्न साथै सरकारका विकास तथा योजनाका पहलहरूलाई सिक्किमको हरेक कुनासम्म पुगेको कुरा सुनिश्चित गर्न आग्रह गरेका थिए। विधायक दलको चौथो बैठकमा अन्य विविध विषयहरूमा पनि चर्चा भएको पार्टीले जानकारी दिएको छ।


Leave a Comment