आयुष मन्त्रालयअन्तर्गत केन्द्रिय आयुर्वेद विज्ञान अनुसन्धान परिषद् (सि.सि.आर.ए.एस.) को सिक्किम तादोङस्थित क्षेत्रीय आयुर्वेद अनुसन्धान संस्थान (आर.ए.आर.आई.) ले “आयुर्वेद फर पिपल एण्ड प्लानेट” भन्ने नारासहित 10औं आयुर्वेद दिवस विविध कार्यक्रमसहित सम्पन्न गरेको छ।
आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अनुसन्धान अधिकारी (वनस्पति) तथा सहायक निर्देशक–प्रभारी डा. जगदीश चन्द्र आर्याले 9 देखि 23 सेप्टेम्बरसम्म चलेको 15 दिन लामो कार्यक्रमबारे जानकारी दिए।
उनले यस अवधि दैनिक जनचेतनामूलक व्याख्यान, ट्राइबल हेल्थ केयर प्रोग्राम (टि.एस.पी.) र आयुर्वेद मोबाइल हेल्थ केयर प्रोग्राम (एस.सी.एस.पी.) अन्तर्गत आउटरीच गतिविधि, विद्यालय, वृद्धाश्रम तथा सुरक्षाकर्मीबीच स्वास्थ्य शिविर, योग प्रदर्शन, निःशुल्क परामर्श र औषधि वितरण जस्ता कार्यक्रम सञ्चालन गरिएका जानकारी दिए।
डा. आर्याका अनुसार विद्यालयका बालबालिका, वृद्ध नागरिक, महिला, सुरक्षाकर्मी तथा ओ.पी.डी. मा आएका सर्वसाधारणसहित 5000 भन्दा बढी व्यक्तिहरू लाभान्वित भए। यस अवधिमा औषधीय बिरुवा प्रदर्शनी, निबन्ध तथा पोस्टर प्रतियोगिता, प्रकृति एसेस्मेन्ट, स्वास्थ्यवर्द्धक रेसिपि प्रतियोगिता तथा औषधीय बिरुवा वितरण जस्ता गतिविधि पनि गरिएका थिए।
डा. आर्याले जानकारी दिएअनुसार सिक्किमको आयुर्वेदिक उपचार केन्द्रमा दैनिक 30 जनासम्म मानिसहरू आउने गर्दछन्। उनीहरूले प्राप्त गर्ने उपचार पद्धतिबाट सन्तुष्ट रहेको समेत उनले बताए। तथापि, सिक्किमको क्षेत्रीय आयुर्वेद केन्द्रले उपचारमा भन्दा बढी मानिसहरूलाई आयुर्वेदबारे जानकारी गराउन तथा अनुसन्धानका क्षेत्रमा कार्य गरिरहेको पनि डा. आर्याले जानकारी दिए।


Leave a Comment