फेरि पनि सबैभन्दा लोकप्रिय मुख्यमन्त्री बने पीएस गोले। फेरि एकपल्ट लोकप्रिय मुख्यमन्त्रीको शीर्ष स्थानमा उभिए सिक्किमका मुख्यमन्त्री
इण्डिया टुडेको एमओटीएन पोल-मा गोले बने सबैभन्दा लोकप्रिय मुख्यमन्त्री।
सिक्किमका मुख्यमन्त्री पीएस गोले फेरि सबैभन्दा लोकप्रिय मुख्यमन्त्री बन्नपुगेका छन्। इण्डिया टुडेको एमओटीएन पोल अनुसार मुख्यमन्त्री गोले साना राज्यहरूमध्ये सबैभन्दा राम्रो प्रदर्शन गर्ने मुख्यमन्त्री बनेका छन्। अगस्त 2025 –मा देशका 10 भन्दा कम्ती लोकसभा सीट भएका राज्यहरूलाई समेटेर गरिएको एमओटीएन पोलको सर्वेक्षणले अरुणाचल प्रदेश, त्रिपुरा, मेघालय र मिजोरमका मुख्यमन्त्रीहरूभन्दा सिक्किमका मुख्यमन्त्री पीएस गोलेलाई अघि देखाएको छ।
सर्वेक्षण अनुसार सिक्किमका 53.9 प्रतिशत जनताले मुख्यमन्त्री गोलेको प्रदर्शनप्रति सन्तुष्टि व्यक्त गरेका छन्, जसले गर्दा उनी सूचीको शीर्ष स्थानमा उभिएका छन्।
गत फरवरी 2025 -मा इन्डिया टुडे मुड अफ द नेशनले गरेको सर्वेश्रणभन्दा यसपल्ट प्रतिशतमा कमी आएको देखिएको छ। फरवरीमा यो आँकड़ा 62 प्रतिशत थियो। तथापि, गोलेले साना राज्यहरूका अन्य मुख्यमन्त्रीहरूभन्दा व्यापक अन्तरले शीर्ष स्थान ओगटेका छन्।
सूचीमा अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खान्डुले 41.6 प्रतिशतका साथ दोस्रो स्थान प्राप्त गरेका छन्। फरवरीमा यो आँकाड 42 प्रतिशत थियो। यसैगरी, त्रिपुराका मुख्यमन्त्री डा. माणिक साहाले 40.4 प्रतिशतका साथ तेस्रो स्थान ओगटेका छन् भने फरवरीमा यो आँकडा 39 प्रतिशत थियो। त्यसरी नै, मेघालयका कोनराड साङमाले 38.6 प्रतिशत प्राप्त गरेका छन् भने यो आँकडा गत फरवरीमा 38 प्रतिशतभन्दा थोरै वृद्घि भएको हो। यस्तै प्रकारले, मिजोरमका मुख्यमन्त्री लालदुहोमाले 38.4 प्रतिशत प्राप्त गरेका छन् भने फरवरीमा यो आँकड़ा 38 प्रतिशत थियो।
सर्वेक्षण अनुसार सिक्किमका जनता मुख्यमन्त्रीको शासनप्रणालीसँग सन्तुष्ट रहेको देखिएको छ। सर्वेक्षणमा प्रत्येक राज्यका जनतालाई आफ्नै मुख्यमन्त्रीको कार्यसम्पादन मूल्याङ्कन गर्न भनिएको थियो। सिक्किममा गरिएको सर्वेक्षणमा सामेल 300 जनामध्ये 53.9 प्रतिशत जनताले मुख्यमन्त्री गोलेको कार्यप्रणालीमाथि सन्तुष्टि व्यक्त गरेका छन् भनी बताइएको छ।
यसरी नै, मुड अफ दे नेशनमा देशका सबैभन्दा लोकप्रिय मुख्यमन्त्रीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ देखिएका छन्। देशभरिका 36 प्रतिशत जनताले योगीलाई सबैभन्दा राम्रो मुख्यमन्त्रीको रूपमा हेरेका छन्। यद्यपि आ-आफ्ना गृह राज्यका जनतासँग गरिएको सर्वेक्षणमा ठूला राज्यहरूमा असमका मुख्यमन्त्री हेमन्त विश्वशर्मा अनि साना राज्यहरूमा सिक्किमका मुख्यमन्त्री पीएस गोलेले बाजी मारेका छन्।
मुड अफ द नेशन कुल 2 लाख 6 हजार 826 मानिसहरूको विचारको निचोड हो। 1 जुलाईदेखि 14 अगस्त 2025 सम्म देशका सबै राज्य र लोकसभा निर्वाचन क्षेत्रहरूमा प्रत्येक उमेर समूह, जाति, धर्म, लिङ्गका 54 हजार 788 जनाले यसमा भाग लिएका थिए।
उल्लेखनीय छ, यही वर्षको गत फरवरी महिनामा इन्डिया टुडे मुड अफ द नेशन पोलले जारी गरेको सर्वेक्षणको सूचीमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले ६२.१ प्रतिशत अनुमोदन रेटिङका साथ लोकप्रियता चार्टमा शीर्ष स्थान हासिल गरेका थिए।
वर्ष 2023 –मा सिक्किमका मुख्यमन्त्री पीएस गोलेको अनुमोदन रेटिङ केवल 26 प्रतिशत थियो भने अगस्त 2024 सम्ममा आइपुग्दा यो रेटिङ बढ़ेर 55.7 प्रतिशतमा पुगेको थियो।
यसैबिच, इण्डिया टुडेको मुड अफ द नेशन सर्वेक्षणमा साना राज्यहरूमध्ये सबैभन्दा लोकप्रिय मुख्यमन्त्रीको रूपमा स्थान पाउनु व्यक्तिगत उपलब्धि मात्र नभएर यो सम्पूर्ण राज्यकै उपलब्धि रहेको मुख्यमन्त्री गोलेले बताएका छन्। यस उपलब्धिले प्रगति, समावेशिता र सबैको राम्रो भविष्यका लागि अथक प्रयासप्रति हाम्रो अटल प्रतिबद्धतालाई पुन: पुष्टि गर्दछ भनी उनले बताएका छन्।
मुख्यमन्त्रीले आफ्नो फेसबुक पेजमार्फत यसको जानकारी दिँदै यो उपलब्धिले सिक्किमका जनताको विश्वास, समर्थन र विश्वासलाई प्रतिविम्बित गर्ने बताएका छन्। यो सम्मान पूर्णतया तपाईंहरूको हो, सिक्किमका गर्विला जनताको, जसको समर्थनले हामीलाई प्रगतिशील, गतिशील र समावेशी राज्य निर्माण गर्न प्रेरित गरिरहन्छ भन्दै मुख्यमन्त्रीले सिक्किमेली जनताप्रति आभार व्यक्त गरेका छन्।
सिक्किमको रूपान्तरणकारी मार्गलाई मान्यता दिएकोमा इन्डिया टुडे टोलीलाई पनि उनले विशेष धन्यवाद दिएका छन्। यसका साथै, यो उपलब्धि मेरो होइन, कुनै व्यक्तिको होइन, तर हाम्रो प्रगतिका वास्तविक शिल्पकार सिक्किमका जनताको हो भनी उनले उल्लेख गरेका छन्।
Leave a Comment