उत्तर सिक्किममा पैह्रो : सैयौँ पर्यटक अलपत्र
द हिमाल वर्ल्ड
25 अप्रेल, 2025
उत्तर सिक्किमका दुई प्रसिद्ध पर्यटकीय गन्तव्य लाचेन र लाचुङ जाने सडकहरू पैह्रोले क्षतिग्रस्त भएको कारण शुक्रबार दोस्रो दिन पनि सैयौं पर्यटक अलपत्र परेका छन्। उत्तर सिक्किममा वर्षाको मौसम नआइ पैह्रो झर्ने क्रम शुरु भएको छ। हिजो बिहीबार बेलुका वर्षाले उत्तर सिक्किमका धेरै स्थानहरूमा पैह्रो झरेर सडक अवरुद्ध बनेका छन् जसका कारण पर्यटकहरूले असुविधा झेल्नु परेको छ। बिहीबार दिउँसोदेखि लगातार परेको वर्षाको कारण आएको पैह्रोले गर्दा लाचेन–चुंगथाङ सडकको मुन्सिथाङ र लाचुङ–चुंगथाङ खण्डको लेमा/बोब क्षेत्रका विभिन्न ठाउँहरूमा सडकहरू क्षतिग्रस्त बनेको मगनका पुलिस अधीक्षक सोनाम दिछु भोटियाले जानकारी गराएका छन्।
पुलिस सुत्रबाट प्राप्त जानकारीअनुसार पर्यटक बोकेका करिब 200 सवारी साधनहरू र बीचमा अलपत्र परेका पर्यटकहरूलाई बिहीबार चुंगथाङ गुरुद्वारा र ITBP क्याम्पमा राखिएका छन्, जसमा लगभग 1000 पर्यटक थिए। उनीहरूलाई शुक्रबार त्यहाँबाट निकालेर गान्तोक प्रस्थान गराइएको पुलिस अधीक्षक भोटियाले द हिमाल वर्ल्डलाई जनाएका छन्। लाचुङतर्फ पनि सडक मार्गको कारण पर्यटनमा समस्या उत्पन्न भएको छ। अधिकारीहरूले जनाएअनुसार बिहीबार राति प्राप्त आधिकारिक सूचना अनुसार, लाचेन-चुङथाङ सडकको मुन्सिथाङ र लाचुङ-चुङथाङ खण्डको लेमा/बोबमा ठूलो पहिरो गएको छ। शुक्रबार उत्तर सिक्किमका लागि निर्धारित सबै यात्राका अनुमति रद्द गरिएका छन्, जसमा पहिले नै जारी गरिएका पर्यटन पासहरू पनि समावेश छन्। जिल्ला प्रशासनले सबै टुर अपरेटरहरूलाई कुनै पनि परिस्थितिमा शुक्रबार उत्तर सिक्किममा पर्यटकहरू नपठाउन निर्देशन दिएको छ।
अर्कोतिर पर्यटकीय मौसम शुरू भएकोले लाचेन र लाचुङमा रहेका होटलहरू पूर्ण रूपमा बुक छन् भने लाचेनका स्थानीय मानिसहरूले पनि लाचेनमा पर्यटकहरूको आवागमनलाई सहज बनाउन वैकल्पिक काठको पुलसमेत निर्माण गरेका छन्।
उल्लेखनीय छ, 3 अक्टोबर 2023 मा आएको भेलबाट लाचेन सबैभन्दा बढी प्रभावित भएको थियो। लाचेन लगभग डेढ वर्षदेखि सम्पर्क विच्छेद भएको थियो। मार्चदेखि सुरु भएको यो पर्यटकीय मौसममा लाचेनमा पर्यटकहरूको सङ्ख्यामा वृद्धि भएकोले टुर अपरेटर र होटल व्यवसायीहरू खुसी छन्। यद्यपि, नियमित सडक अवरोधले भने पर्यटनमा बाधा पुऱ्याइरहेको छ।
Leave a Comment