केन्द्र सरकाररले घोषणा गरे अनुरूप सिक्किममा छोला र डोकलाममा आगामी 1 अक्टोबरदेखि रणभूमि पर्यटन शुरू हुने भएको छ। सिक्किम सरकारको पर्यटन विभाग अनि यस क्षेत्रमा सेवारत भारतीय सेनाको संयोजनमा हुने रणभूमि पर्यटनको तयारीलाई लिएर 25 अप्रेल बिहावार पर्यटन विभाग र सम्बन्धित सेनाका अधिकारीहरूले अन्तिम जायजा लिए।
आगामी 1 अक्टोबरको दिन सम्भवत: सिक्किमका राज्यपाल, मुख्यमन्त्री, भारतीय सेनाका अधिकारी साथै पर्यटन विभागीय अधिकारीहरूको उपस्थितिमा यहाँको पर्यटन शुरू हुनेछ।
छोला भारत-चीन सीमाक्षेत्रमा पर्दछ भने डोकलाम भारत-चीन र भोटाङको ट्राइ जंक्सन हो।
उल्लेखनीय छ, भारतका रक्षामन्त्री राजनाथ सिंहले गत जनवरी महिनानमा देशका अन्य रणभूमि क्षेत्रहरूसितै सिक्किमको डोकलाम र छोलामा पनि रणभूमि पर्यटन शुरू गर्ने घोषणा गरेका थिए। सिक्किममा यसअघि नाथुला पास रणभूमि पर्यटनको रूपमा चलिरहेको छ।
बिहीवार सिक्किमको पर्यटन विभाग र भारतीय सेनाले गरेको संयुक्त निगरानीमा यहाँका आवश्यक पूर्वाधारहरू साथै भविष्यमा जड़ान गरिइनुपर्ने पूर्वाधारहरूको आवश्यकताबारे जायजा लिए। यस अवसरमा ट्राभल एजेन्ट एसोसिएशन अफ सिक्किम साथै अन्य विभिन्न पर्यटन सरोकारवालाहरूको पनि उपस्थिति थियो। सिक्किम सरकारले यी दुइ क्षेत्रमा हालका लागि दैनिक 25 वटा वाहन र 25 वटा मोटरसाइकलमा पर्यटकहरू जानसक्ने अनुमति दिनेभएको छ। यसका लागि एक दिन अर्थात् 24 सेप्टेम्बर बुधवार सिक्किम सरकारको गृह विभागले एउटा अधिसूचना जारी गरेर सम्बन्धित विषयहरूबारे जानकारी सार्वजनिक गरेको थियो।
यस अवसरमा बिहीवार दुइवटा क्षेत्रको भ्रमणमा रहेका पर्यटन विभागीय सचिव निरज प्रधानले यी दुइ क्षेत्र पर्यटनका लागि नयाँ भएकाले पर्यटन सरोकारवाला साथै अन्यलाई पनि यसबारे जानकारी दिन साथमा लिएर आफूले यी क्षेत्रहरूको भ्रमण गरेको बताए। उनले यस क्षेत्रमा पर्यटन शुरू गर्दा भविष्यमा सिक्किमको पर्यटनलाई ठूलो फाइदा पुग्ने विश्वास व्यक्त गर्दै सीमा इलाकाका यी पर्यटन क्षेत्रमा अनुशासित पर्यटन सञ्चालन गर्न हितधारकहरूलाई आग्रह गरे।
यसैगरी, ट्राभल एजेन्ट एसोसिएशन अफ सिक्किम टास-का सचिव रमेश बस्नेतले दुइ रणभूमि क्षेत्रलाई पर्यटनका लागि शुरू गरिदिएकोमा सिक्किम सरकारप्रति आभार व्यक्त गरे। तथापि वर्तमानमा यहाँ सीमित वाहनहरूलाई मात्र जाने अनुमति दिएकाले भविष्यमा यसलाई बढ़ाउनेबारे विचार गरिदिन उनले सरकारसमक्ष आग्रह गरेका छन्।


Leave a Comment