loader

Breaking News

छत्तीसगढ मिडिया टोलीले भेट गरे सिक्किमका राज्यपालसँग

Image
 

केन्द्र सरकारका महत्वाकांक्षी परियोजना, सामरिक दृष्टिले महत्वपूर्ण पूर्वाधार तथा दिगो विकासका कार्यहरूको प्रत्यक्ष अध्ययन गर्ने उद्देश्यसहित छत्तीसगढ राज्यबाट आएको 12 जना पत्रकारहरूको प्रतिनिधिमण्डलले आज लोकभवन, सिक्किममा राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गरेको छ। पत्र सूचना कार्यालय रायपुरको संयोजनमा आयोजित यो भ्रमण 15 देखि 21 फरवरीसम्म सात दिन सञ्चालन भइरहेको छ।

भेटका क्रममा राज्यपालले सिक्किमलाई स्वच्छ, हरित र पर्यावरणमैत्री राज्यका रूपमा उल्लेख गर्दै सरकारले अघि सारेका विभिन्न पहलहरूको सराहना गरे। उनले महिलाप्रधान राज्यका रूपमा सिक्किमले दिगो पर्यटन, जैविक खेती र समावेशी विकासका क्षेत्रमा गरेको उल्लेखनीय प्रगतिबारे पनि प्रकाश पारे।

राज्यपालले प्रतिनिधिमण्डललाई सिक्किमका ऐतिहासिक रणभूमि स्थलहरूको महत्वबारे जानकारी दिँदै छोला र डोकलामजस्ता सामरिक दृष्टिले महत्वपूर्ण क्षेत्रहरूको ऐतिहासिक र भूराजनीतिक पृष्ठभूमि अवगत गराए, साथै ती स्थानहरूको भ्रमणमार्फत इतिहास बुझ्न र राष्ट्रिय सुरक्षाको दृष्टिले यसको महत्व देशभर पुर्‍याउन पत्रकारहरूलाई प्रेरित गरे।

भेटका क्रममा पत्रकारहरूले सडक तथा हवाई सम्पर्कको अवस्था, जैविक उत्पादनका लागि बजार विस्तार तथा पर्यटन पूर्वाधार विकाससम्बन्धी जिज्ञासा राखेका थिए। यसमा राज्यपालले केन्द्र र राज्य सरकारबीचको सहकार्यबाट यी सबै क्षेत्रलाई थप सुदृढ बनाउने कार्य निरन्तर अगाडि बढिरहेको स्पष्ट पारे।

प्रतिनिधिमण्डलमा छत्तीसगढका प्रमुख सञ्चार माध्यमका 10 जना वरिष्ठ पत्रकारसहित एक अधिकारी र एक कर्मचारी सहभागी छन्। यस अवसरमा सिक्किम पीआईबीका सहायक निर्देशक मानस प्रतिम शर्मा पनि उपस्थित थिए। प्रतिनिधिमण्डलको नेतृत्व सहायक निर्देशक सुदीप्त कर र पुरुषोत्तम झाले गरेका छन्।

यसै क्रममा सञ्चारकर्मी टोलीले पुरानो लोकभवनको पनि अवलोकन गरेको छ। टोलीलाई ब्रिटिश शासनकालको राजनीतिक कार्यालयदेखि राजभवन हुँदै हालको लोकभवनसम्म आइपुगेको यस ऐतिहासिक भवनले भारतीय लोकतन्त्रको लामो यात्राको साक्षी बनेको जानकारी दिइएको थियो।

कार्यक्रमअनुसार प्रतिनिधिमण्डलले केन्द्र प्रायोजित प्रमुख परियोजनाहरूको अवलोकन गर्नेछ। यसअन्तर्गत सिक्किमको पहिलो रेल सम्पर्क परियोजना सेभोक-रम्फू लाइनको साइट भ्रमण समावेश गरिएको छ। साथै सामरिक दृष्टिले महत्वपूर्ण नाथू सीमा, बाबा मन्दिर तथा छांगु झीलको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ। प्रतिनिधिमण्डलले भाइब्रेन्ट भिलेज पहल, पेलिङ स्काईवाक तथा भारतीय वनस्पति सर्वेक्षणका केन्द्रहरूको पनि अध्ययन भ्रमण गर्नेछ।

 


Leave a Comment