सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले राज्यका निवर्तमान राज्यपाल ओमप्रकाश माथुरले आफ्नो कार्यकालमा दिएको योगदान, मार्गदर्शन र सेवाप्रति आभार व्यक्त गरेका छन्। उनले सिक्किमको नयाँ राज्यपालमा नियुक्त दुष्यन्त गौतमलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका छन्।
मुख्यमन्त्री गोलेले आफ्नो फेसबुक पोस्टमार्फत माथुरको कार्यकालमा देखिएको आत्मीयता, बुद्धिमत्ता र सिक्किमका जनताप्रतिको स्नेह सधैँ स्मरणीय रहने बताएका छन्। केरला राज्यको राज्यपालमा नियुक्त भएका माथुरलाई बधाई दिँदै उनले नयाँ जिम्मेवारीमा पनि निरन्तर सफलताको कामना गरेका छन्।
यसैगरी, सिक्किमको राज्यपालमा नियुक्त दुष्यन्त गौतमलाई स्वागत गर्दै मुख्यमन्त्रीले उनको कार्यकाल जनकल्याण, राज्यको प्रगति र विकासका लागि फलदायी हुने विश्वास व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले तमिलनाडुको राज्यपालमा नियुक्त राजेन्द्र विश्वनाथ आर्लेकर, ओडिशाको राज्यपालमा नियुक्त ब्रजमोहन, कर्नाटकको राज्यपालमा नियुक्त डा. सुधा यादव र उत्तराखण्डको राज्यपालमा नियुक्त डा. दल सिंह बिसेनलाई पनि बधाई तथा शुभकामना दिएका छन्।
सबै नवनियुक्त राज्यपालहरूको कार्यकाल समर्पित जनसेवा, संवैधानिक मूल्य, समावेशी विकास र राष्ट्रिय एकतालाई सुदृढ बनाउने दिशामा सफल रहोस् भन्ने कामना पनि मुख्यमन्त्री गोलेले गरेका छन्।


Leave a Comment