जनतालाई शासन प्रणालीसँग प्रत्यक्ष जोड्ने उद्देश्यका साथ सिक्किमका मुख्यमन्त्री पीएस गोलेले ‘Connect to CM’ नामक नयाँ जनकेन्द्रित प्लेटफर्म शुभारम्भ गरेका छन्। उनले हिजो 13 अक्टोबरमा सम्मान भवनबाट यो प्लेटफर्म शुभारम्भ गरेका हुन्।
शासन प्रणालीलाई जनताको घर दैलोसम्म पुर्याउने दिशामा सरकारले अर्को महत्वपूर्ण कदम चालेका मुख्यमन्त्रीले बताएका छन्। यो पहलले सिक्किमका नागरिकहरूलाई आफ्ना समस्या, सुझाव तथा सेवा सम्बन्धी विषयहरू प्रत्यक्षरूपमा मुख्यमन्त्री कार्यालयसम्म पुर्याउन सक्नेछ, जसले समयमै र प्रभावकारी सार्वजनिक सेवा सुनिश्चित गर्नेछ।
यो सेवा अक्टोबर 14, 2025 देखि औपचारिक रूपमा सञ्चालनमा रहनेछ। नागरिकहरूले 80016-81188 वा 93327-81188 नम्बरमा प्रत्येक दिन बिहान 10:30 बजे देखि दिउँसो 4:00 बजेसम्म सम्पर्क गर्न सक्नेछन्।
मुख्यमन्त्रीले यस कार्यक्रमलाई ‘आँगनमा सरकार’ भन्ने आफ्नो शासन दर्शनसँग जोड्दै यसले पारदर्शी, जवाफदेही र सहभागी शासन प्रणालीको नयाँ अध्याय खोलेको उल्लेख गरे।
यसै अवसरमा उनले ‘Chief Minister Schemes Integrated Management System’ पनि प्रारम्भ गरे, जसको माध्यमबाट मुख्यमन्त्री कार्यालय अन्तर्गतका सबै योजना र कार्यक्रमहरूको कार्यान्वयन तथा अनुगमनलाई अझ प्रभावकारी बनाउन सकिनेछ।
यो पहलले समाजको अन्तिम व्यक्तिसम्म सरकारको सेवा पुर्याउने र जोडिन बाँकी रहेका जनतालाई वास्तवमै जोड्ने लक्ष्य राखेको छ।


Leave a Comment