मुख्यमन्त्री पीएस गोलेले पश्चिम सिक्किमको अप्पर रिम्बीमा गएको भीषण पहिरोमा प्रभावित बनेकाप्रति गहिरो शोक व्यक्त गरेका छन्। यो दुर्घटनाले अपूरणीय क्षति पुऱ्याएको भन्दै शोकाकुल परिवारसँग सरकारको तर्फबाट पूर्ण ऐक्यबद्धता प्रकट गरेका छन्।
घटनाको जानकारी पाएलगत्तै मुख्यमन्त्रीले जिल्लापाल र सम्बन्धित अधिकारीहरूसँग प्रत्यक्ष सम्पर्क गरी तत्काल उद्धार, राहत र पुनर्वासका लागि आवश्यक सबै पहल र सहयोग पुर्याउन निर्देशन दिएका थिए।
पीडित परिवारको सुरक्षा, हित र आवश्यक सहयोग सुनिश्चित गर्नु सरकारको सर्वोच्च प्राथमिकता रहेको मुख्यमन्त्रीले बताएका छन्।
उनले राज्य सरकारको तर्फबाट पीडित परिवारलाई सबै आवश्यक सहयोग उपलब्ध गराइने प्रतिवद्धता जनाउँदै शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन्। साथै उनले दिवंगत आत्माहरूको चीर शान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गरेका छन्।
जानकारी गराइन्छ, बिहीबार राति गएको पहिरोमा तीन जनाको मृत्यु भएको थियो भने दुई जना गम्भीर घाइते भएका थिए। स्थानीय गाउँमा मध्यरात खसेको उक्त पहिरोले घरसमेत क्षति पुऱ्याएको जिल्ला प्रशासनले जनाएको छ। गम्भीर घाइतेलाई तत्काल उद्धार गरी गेजिङ अस्पतालमा भर्ना गरिएको छ।
घटनापछि सुरक्षाकर्मी र स्थानीय बासिन्दाहरूले रातिदेखि नै उद्धारकार्य सञ्चालन गरेका थिए। प्रारम्भिक विवरणअनुसार मृतकमध्ये तीन जना एउटै परिवारका सदस्य भएको जनाइएको छ।
Leave a Comment