loader

Breaking News

आरोपीलाई भगाउन पुलिसमाथि चलाइयो गोली : दुइ घाइते, खोजी जारी 

Image
 

द हिमाल वर्ल्ड
15 जनवरी, 2025

यो दृश्य कुनै चलचित्रको भन्दा अलिकति पनि फरक थिएन..... पुलिसको फन्दाबाट आफ्ना नाइकेलाई छुटाएर भिलेनहरूले लगेका दृश्यहरू तपाईं-हामीले धेरै चलचित्रहरूमा हेर्दै आएका हौं। यो दृश्य पनि चलचित्रमा देखिए जस्तै थियो.....
रायगञ्जको त्यो दृश्य... साँच्चै कुनै चलचित्रको दृश्य झैं थियो।
एउटा हत्याकाण्डका आरोपीलाई बुधवार इस्लामपुर अदालतमा पेश गरेपछि साँझपख उसलाई पुन रायगञ्ज जेल लगिइँदै गर्दा बाटोबिचमा आरोपीले आफूलाई दिसा-पिसाब लागेको बताउँदै केहीक्षण गाड़ी रोकिदिने अनुरोध पुलिसकर्मीहरूसमक्ष गर्दछ। यसका लागि पुलिस वाहनलाई साइड गर्न बाटोछेउ लगिइँदै गर्दा अचानक एक हूल युवकहरू बाइकहरूमा सवार भई त्यहाँ आइपुग्छन् अनि पुलिसकर्मीकै पिस्तोल खोसी उनीहरूमाथि गोली चलाउँदै आफ्ना नाइकेलाई लिएर उनीहरू चम्पट कस्छन्। 
आक्रमणमा परी एएसआई निलकान्त सरकार अनि कन्स्टेबल देवेन वैश्य घाइते हुन पुग्छन्। 

हत्याकाण्डको आरोपमा पक्रा परेका सजद आलम विगत 2019 –देखि नै पश्चिम बंगालको उत्तर दिनाजपुर जिल्ला अन्तर्गत रायगञ्ज जेलमा थिए। उनीमाथि हत्याको मुद्दा चलिरहेको थियो। यसै क्रममा बुधवार इस्लामपुर अदालतमा उनको पेशी थियो अनि पेशीपछि उनलाई फर्काएर रायगञ्ज जेल लगिँदै गर्दा साँझको लगभग 5 बजीतिर रायगञ्जको ग्वालपुकुर थाना अन्तर्गत पाञ्जीपाड़ाछेउ पुग्दा उक्त घटना घटेको थियो। सजदले दिसा-पिसाब लागेको बताउँदै पुलिसकर्मीलाई गाड़ी रोकिदिने आग्रह गरेको थियो। गाड़ी रोक्नलाई सड़कछेउ लगिरहेको समय अचानक केही युवकहरू बाइकहरूमा आएर पुलिसकर्मीकै पिस्तोल खोसेर उनीहरूमाथि गोली चलाई सजदलाई पुलिसको फन्दाबाट छुटाएर सुइँकुच्चा ठोकेका थिए।
गोली लागेर गम्भीर घाइते बनेका एएसआई निलकान्त सरकार र कन्स्टेबल देवेन वैश्यलाई उपचारको निम्ति इस्लामपुर सबडिभिजन अस्पताल लगियो, जहाँबाट उनीहरूलाई सिलगढ़ीछेउ उत्तर बंगाल मेडिकल कलेजमा पठाएको बताइएको छ।
घटनामा युवकहरूको गिरोह आएर गोली चलाउँदै आरोपीलाई पुलिसको फन्दाबाट मुक्त गराइएको भन्ने अपुष्ट खबर अघि आइरहे पनि अर्कोतिर इस्लामपुर पुलिस डिस्ट्रिक्टका अधीक्षक जोबी थोमसले भने सजद एक्लै रहेको अनि उनैले पुलिसकर्मीहरूमाथि गोली चलाएको बताएका छन्। इस्लामपुर पुलिसले घटनाको जाँच गरिरहेको जनाउँदै आरोपीलाई चाँड़ै पक्रिने उनले बताएका छन्।
 


Leave a Comment