एमएम तराईबाट फेरि अर्का छोरा बने लेफ्टिनेन्ट
आईएएस-पछि फेरि अर्का लेफ्टिनेन्ट
अजयपछि रोहितले राखे एमएम तराईको नाउँ
रोहित सुब्बा बने भारतीय सेनामा लेफ्टिनेन्ट
बाघडोग्रा नजिक एमएम तराई क्षेत्रबाट फेरि अर्का छोरा भारतीय सेनामा लेफ्टिनेन्ट बनेका छन्। यसअघि यसै क्षेत्रका एउटा किसान परिवारमा जन्मी हुर्केका अजय मोक्तान आइएएस अधिकारी बनेका थिए भने यसपल्ट फेरि एउटा गरीब परिवारकै छोरा रोहित सुब्बा भारतीय सेनामा लेफ्टिनेन्ट बन्नपुगेका छन्।
उल्लेखनीय छ, रोहित सुब्बाको पुर्ख्यौली घर दार्जीलिङ बिजनबारी भए पनि सानैमा उनका आमा-बाबाको निधनपछि उनका हजुरबुवा अनि काका-काकीले उनलाई शिक्षा-दीक्षा दिएका हुन्। रोहितकी काकी एउटा प्राइभेट स्कूलकी शिक्षा भएकीले उनले नै रोहितलाई शिक्षा दिने भार लिएकी थिइन्।
रोहितले सेनाको कमिशन परीक्षा उत्तीर्ण गरी लेफ्टिनेन्ट बनेकोमा गर्व अनुभव गर्दै सोमवार एमएम तराई भूतपूर्व सैनिक अर्द्धसैनिक कल्याण संगठनले क्षेत्रमा एउटा कार्यक्रम आयोजन गर्दै रोहितलाई सम्मान जनाउने काम गऱ्यो। यसका साथै, उनी पढ़ेको बेथल प्राइमेरी स्कूलमा पनि विद्यार्थीहरूबिच स्कूल पक्षले उनलाई सम्मान जनायो।
एकपछि अर्को गर्दै अहिलेघरि दार्जीलिङ पहाड़, तराई एवम् डुवर्स क्षेत्रबाट गोर्खा युवाहरू विभिन्न स्तरीय परीक्षाहरूमा उत्तीर्ण गर्दै विभिन्न क्षेत्रमा उच्च पदस्थ अधिकारीहरू बन्ने क्रम जारी रहेको छ, जसले गर्दा भावी पीढ़ीका लागि उनीहरू प्रेरणाका स्रोत बनेका छन्।
दृढसंकल्प भए कुनै पनि कठिनाइ पार गर्न सकिन्छ भन्ने उदाहरण एमएम तराईका अजय मोक्तानले आईएएस अधिकारी बनेर प्रस्तुत गरेका थिए भने अहिले फेरि रोहित सुब्बाले पनि यस्तै उदाहरण प्रस्तुत गरेर आफ्ना परिवार मात्र होइन क्षेत्रवासीलाई गौरान्वित तुल्याएका छन्।
Leave a Comment