एकपछि अर्को गर्दै दार्जीलिङ पहाड़मा तृणमूल कंग्रेस पार्टीबाट राजीनामा दिनेहरूको संख्या बढ़िरहेछ। पार्टीका क्षेत्रीय पदाधिकारीसहित कार्यकर्ताहरूले लगातार पार्टीबाट राजीनामा दिन थालेपछि पहाड़मा राज्यको सत्तासीन दल टीएमसी कमजोर बन्दै गइरहेको त छैन भन्ने प्रश्न अहिलेघरि चारैतिर उठ्न थालेको छ।
यसै क्रममा, 3 दिसम्बर मंगलवार तकदा-टिस्टा भेल्लीका टीएमसी अध्यक्ष एवम् तृणमूल चा बगान श्रमिक युनियन केन्द्रिय समितिका सदस्य विकास सुब्बा लगायत धेरैले पार्टीबाट राजीनामा दिएका थिए भने त्यसको लगत्तै फेरि आज मंगलवार नै टीएमसी रंगली-रंगलियट ब्लक कमिटी एवम् तृणमूल चा बगान श्रमिक युनियन रंगली-रंगलियट ब्लक कमिटीका अध्यक्ष विशाल राईले पनि पार्टीबाट राजीनामा दिएका छन्। उनीसितै टीएमसी पार्टीका क्षेत्रीय पञ्चायत समिति एवम् पञ्चायत सदस्यहरू लगायत अन्य कार्यकर्ताहरूले पनि पार्टीबाट राजीनामा दिएका छन्।
स्मरण गराइन्छ, गत 29 नोबेम्बर शुक्रवारको दिन अल इण्डिया तृणमूल कंग्रेस दार्जीलिङ हिल्सका प्रवक्ता साथै महासचिव एनबी खवासले पार्टीको प्राथमिक सदस्यताबाट राजीनामा दिएको घोषणा गरेका थिए। खवास तृणमूल चा बगान श्रमिक युनियन, केन्द्रिय समितिका उपाध्यक्षसमेत थिए। खवासको राजीनामापछि पहाड़मा टीएमसी पार्टीबाट राजीनामा दिनेहरूको संख्या लगातार बढ़िरहेछ।
एक समय दार्जीलिङ पहाड़मा सशक्त बनेको तृणमूल कंग्रेस पार्टी खवासको राजीनामापछि विस्तारै कमजोर बन्दै गइरहेको त छैन भन्ने अनुमान पर्यवेक्षकहरूले लाउन थालेका छन्।
Leave a Comment