नक्कली भारतीय आधार कार्ड अनि प्यान कार्ड बनाएर भारतमा बसोबासो गरिरहेकी इण्डोनेशियाकी एक महिलालाई भारत-नेपाल सीमा पानीट्याङ्कीबाट पक्राउ गरिएको छ। बिहीबार एसएसबीको 41 नम्बर बटालियनका जवानहरूले उक्त महिलालाई पक्राउ गरेको हो। एसएसबीले महिलासँग सोधपुछ गर्दा, शुरूमा महिलाले आफूलाई भारतीय नागरिक निन्योमन मुर्नीको रूपमा परिचय दिएकी थिइन्। यद्यपि, जाँचको क्रममा महिलासँग इन्डोनेसियाली परिचयपत्र सहित धेरै नक्कली कागजपत्रहरू फेला परेको बताइएको छ। सोधपुछको क्रममा उक्त महिलाले विगत 10 वर्षदेखि मुम्बईमा बस्दै आएको र स्थानीय एजेन्टमार्फत नक्कली भारतीय आधार कार्ड र प्यान कार्ड बनाएको स्वीकार गरेको बताइएको छ।
इण्डोनेशियाको पासपोर्टमा महिलाको नाम नी काडेक सिसियानी, उमेर 51 वर्ष र ठेगाना इण्डोनेशियाको बाली भनेर उल्लेख गरिएको छ भने भारतीय आधार कार्ड र प्यान कार्डमा महिलाको नाम निन्योमन मुर्नी उमेर 49 वर्ष उल्लेख गरिएको छ। महिलाले नक्कली कागजपत्रहरू प्रयोग गरेर भारत प्रवेश गरेको र स्थानीय एजेन्ट मार्फत आधार कार्ड बनाएर एक दशकसम्म मुम्बईमा बसेको खुलेको छ। उनले नेपाल, टर्की र भारतभरि यात्रा गर्दा धेरै पहिचानहरू प्रयोग गरेकी थिइन्। महिलालाई एसएसबीले खोरीबारी पुलिसलाई सुम्पिएको बताइएको छ।
सूत्रअनुसार भारत-नेपाल सीमाबाट गत केही महिनाभित्र 7 देखि 8 जना बंगलादेशी नागरिकहरू पक्रा परिसकेका छन् भने उनीहरू सबै हाल जेलमा रहेका छन्।
Leave a Comment