फेरि सेल्फी डाँड़ामा झऱ्यो पैह्रो।
विगत वर्ष पनि यही सेल्फी डाँड़ामा पैह्रो जाँदा राष्ट्रिय राजमार्ग 10, 39 दिन बन्द भएको थियो। उसबेला सड़क मरम्मति कार्य सही रूपमा नगरेको भन्दै राज्य पीडब्ल्युडीमाथि निकै आरोपहरू उठेका थिए। एनएच 10 –को दायित्व राज्य पीडब्ल्युडी-बाट राष्ट्रिय एजेन्सी NHIDCL –को हातमा आएपछि पनि मरम्मति कार्यका लागि 23 दिन अनि पैह्रोको कारण 6 दिन NH10 बन्द भइसकेको छ।
बर्खा सकिएको छैन, पानी पर्न छोड़ेको छैन, पैह्रो खसिरहेकै छ, सड़कलाई मुनिबाट टिस्टाले तानिरहेकै छ, यस्तो स्थितिमा एनएच 10 अझै कति दिन बन्द हुने हो थाहा छैन।
आखिर NHIDCL –ले मरम्मति कार्य चाहिँ कहाँ अनि कस्तो प्रकारले गरिरहेछ त? भन्ने प्रश्न पनि जताततै उठिरहेछ।
सड़कको मरम्मति कार्य प्रभावकारी ढंगमा हुन नसकेकै कारण एनएच 10 –को अवस्था यति साह्रो दयनीय बन्नपुगेको जानिफकारहरू बताउँछन्।
पश्चिम बंगाल राज्य पीडब्ल्युडीको कारण एनएच 10 –को सही मरम्मति हुन नसकेको भन्दै आवाज उठाउनेहरू अहिले मौन छन्।
सेवोकदेखि रम्फूसम्मको एनएच 10 –को अंशको दायित्व NHIDCL-लाई दिनुपर्ने माग गर्दै सिक्किमका मुख्यमन्त्री पीएस गोलेसहित दार्जीलिङका सांसद राजु विष्टले विगतमा आवाज उठाएकै फलस्वरूप एनएच 10 पश्चिम बंगाल राज्य पीड्बल्युडी-को हातबाट फुत्केर NHIDCL –को हातमा पुग्दा पनि सड़कको अवस्था भने जहींको तहीं नै छ।
तब एनएच 10 NHIDCL –को हातमा आएर पनि खोइ के फरक भयो त?
मरम्मतिको काम उस्तै नै छ, बन्द हुने क्रम जारी नै छ, परिवर्तन भने केही देखिएन।
NHIDCL केन्द्र सरकारको एजेन्सी भएकै कारण मौनता साँधिएको त होइन भन्नेहरू पनि धेरै छन्।
अहिले कालेबुङ जिल्ला प्रशासन पनि एनएच 10 लाई लिएर गम्भीर बन्न नसकिरहेको अवस्था छ। कतिबेला कुन समय एनएच 10 –माथि NHIDCL –ले बन्द नोटिश जारी गर्ने हो, त्यसको जानकारी कसैलाई हुँदैन, न त जिल्ला प्रशासनलाई नै हुन्छ, अनि सड़क बन्दको सूचना पोस्ट गर्नु वा साझा गर्ने काममा मात्र जिल्ला प्रशासन पनि सीमित रहेजस्तो अवस्था छ।
NH10 बेलाबेला बन्द भई नै रहन्छ, NHIDCL -ले सड़क मरम्मतिका लागि NH10 बन्द गर्दा विकल्प सड़ककै रूपमा देखिएको पन्बु सड़क पनि बन्द हुनेगरेको छ। अर्कोतिर, NH717A –का धेरैजसो भागहरूमा वाहन चलाउनलाई कुहिरोका कारण धेरै जोखिमपूर्ण अवस्था छ। कालेबुङ र सिक्किमको जीवनरेखा मानिने एनएच 10 –को अस्तित्व खतरामा परेपछि कालेबुङ र सिक्किमवासीले के गर्नुपर्ने भन्ने एउटा ठूलो प्रश्न खड़ा भइदिएको छ।
NHIDCL –द्वारा निर्मित देशका अन्य राष्ट्रिय राजमार्गहरूका उन्नत एवम् विकसित ढाँचालाई हेर्ने हो भने प्रशंसा गर्नलायकका छन्। तब यतिका विकसित ढाँचामा राजमार्गहरू निर्माण गर्ने एजेन्सीबाट एनएच 10 –को निर्माणकार्यमा चाहिँ किन यस्तो उदासीनता?
एनएच 10 –ले जोड़ेका क्षेत्रहरू के भारतभित्र पर्दैनन् त?
के एनएच 10 भारतका अन्य उन्नत राष्ट्रिय राजमार्गहरू सरह बन्न सक्तैन त?
एनएच 10 –को कारण सिक्किम अनि कालेबुङका मानिसहरूले दुख भोगे पनि फाइदाबिनाको पीड़ित चाहिँ कालेबुङवासी नै रहेको कालेबुङका पत्रकार सन्दीप सी जैन बताउँछन्। न जलविद्युत परियोजनाको फाइदा कालेबुङवासीलाई छ न त रेलवे परियोजनाले कालेबुङलाई सुगम बनाइदिएको छ, तरै पनि विकासको नाउँमा केवल कालेबुङवासी पिरोलिनो परेको जैनको भनाइ छ। एनएच 10 –को अवस्थालाई लिएर बारम्बार सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउने काम पनि उनले गर्दै आइरहेका छन्।
साँच्चै, बिहान घरबाट निस्किएपछि एनएच 10 -बाट यात्रा गर्दा सुरक्षित र स्वस्थ रूपमा घर पुग्ने हो कि होइन भन्ने डर भई नै रहने गर्छ। तरै पनि विकल्प छैन, प्रत्येक क्षण ज्यान हत्केलामा राखेर एनएच 10 -को यात्रा गर्न विवश छन् मानिसहरू।
त्यसमाथि झन्, एनएच 10 –लाई लिएर NHIDCL –ले हठात् जारी गर्नेगरेको सड़क बन्दको नोटिशले सबैलाई असुविधामा पारिरहेछ।
धेरै कम्ती समयमा नोटिश सार्वजनिक गरिइँदा त्यसले कहाँ के-कति प्रभाव पार्ने हो, त्यसमाथि विचार गरिँदैन, मानिसहरू कोही कहाँबाट, कोही कहाँबाट आवत-जावत गरिरहेका हुन्छन्, यस्तो स्थितिमा हठात् दिइने सड़क बन्दको नोटिशले निम्तिने समस्याप्रति किन सोचिइँदैन?
NHIDCL –को यस्तो नोटिशले मानिसहरूलाई धेरै असुविधा भइरहेछ। आखिर यसो हुनुमा जिम्मेवार को?
सड़क बन्दको नोटिश दिनअघि मानिसहरूलाई किन पर्याप्त समय दिइँदैन?
NH 10 राज्य र केन्द्र सरकारबिचको राजनैतिक खिँचातानीको शिकार बनिदिनु एउटा विडम्बना हो। कुरा स्पष्ट छ- केन्द्रले राज्यबाट एनएच 10 हत्याउनु थियो, हत्यायो। तर यहाँबाट अझ अघि बढ़ेर कुनै उल्लेखयोग्य पहल भने अहिलेसम्म हुन नसक्नु चाहिँ सबैभन्दा ठूलो दुर्भाग्यको कुरा हो।
Leave a Comment