द हिमाल वर्ल्ड
सिलगढी, 13 जुलाई, 2025
दार्जीलिङ पहाडका छोरा, पूर्व विदेश सचिव हर्षवर्धन श्रृंगला राज्यसभा सांसदको रूपमा मनोनित भएका छन्। राष्ट्रपति द्रौपदी मुर्मुले 12 जुलाई, आइतबार राज्यसभाका लागि चार जनालाई मनोनित गरेकी छन्। जसमा पूर्व विदेश सचिव हर्षवर्धन श्रृंगला पनि सामेल छन्। राष्ट्रपति द्रौपदी मुर्मुले राज्यसभाका लागि क्रमैले उज्ज्वल देवराव निकम, सी. सदानन्दन मास्टर, हर्षवर्धन श्रृंगला र मीनाक्षी जैनलाई मनोनित गरेकी छन्।
उल्लेखनीय छ, हर्षवर्धन श्रृंगला दार्जीलिङ वेलफेयर सोसाइटीका अध्यक्ष पनि हुन्। दार्जिलिङ वेलफेयर सोसाइटीमार्फत विभिन्न सामाजिक कार्यहरू गरेर दार्जीलिङ पहाडका जनताको सेवामा उनले महत्त्वपूर्ण योगदान पुऱ्याउँदै आएका छन्। उनले धेरैपल्ट भारतलाई विश्व मञ्चमा सफलतापूर्वक प्रतिनिधित्व गरेका छन् भने नीति निर्माणमा पनि सशक्त योगदान पुर्याएका छन्। श्रृंगलाले गत लोकसभा चुनाउमा दार्जीलिङ पहाडबाट सांसदको टिकट पाउने निकै चर्चा चुलिएर गएको थियो। यद्यपि उनले सांसदको दौडमा भने भाग लिएनन्। छिरिङलाबाट शृंगला बन्दै देश-विदेशमा ख्याति आर्जन गरेका हर्षवर्द्धन शृंगलाले राष्ट्रसेवामा पुऱ्याएको दीर्घ योगदानको फलस्वरूप उनलाई राज्यसभा सांसदको रूपमा मनोनित गरिएको भन्नेहरू पनि धेरै छन्। पहाड़का छोरा हर्षवर्धन श्रृंगला राज्यसभा सांसदको पदमा मनोनित भएकोमा अहिलेघरि सबैले हर्ष व्यक्त गर्दै उनलाई बधाई एवं शुभकामना पनि दिइरहेका छन्।
Leave a Comment