हिमताल विस्फोटबाट उत्पन्न हुने आकस्मिक बाढी (जीएलओएफ) को जोखिम न्यूनीकरण तथा हिमाली क्षेत्रमा जलस्रोतको सुरक्षित व्यवस्थापनका विषयलाई संसदीय स्तरमा उठाउने सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले बताएका छन्। जलस्रोतसम्बन्धी संसदीय स्थायी समितिको वित्त वर्ष २०२६–२७ को पहिलो बैठकमा सहभागी हुँदै उनले सिक्किमसहित समग्र हिमाली क्षेत्रले सामना गरिरहेका जलस्रोतसम्बन्धी चुनौतीलाई आगामी छलफलमा प्राथमिकताका साथ प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
जलस्रोतसम्बन्धी संसदीय स्थायी समितिको आर्थिक वर्ष २०२६–२७ का लागि आयोजित पहिलो बैठकमा सहभागी भएपछि सांसद सुब्बाले हिमाली क्षेत्रका विशिष्ट भौगोलिक तथा पारिस्थितिक चुनौतीलाई ध्यानमा राख्दै जलस्रोत संरक्षण र व्यवस्थापनका विषयमा प्रभावकारी छलफल अघि बढाउने बताएका हुन्।
समितिका अध्यक्ष तथा लोकसभा सांसद राजीव प्रताप रुडीको अध्यक्षतामा सम्पन्न बैठकपछि सुब्बाले आगामी बैठकहरूमा विषयगत छलफल अघि बढ्दै जाँदा सिक्किम र समग्र हिमाली क्षेत्रका समस्यालाई प्रतिनिधित्व गर्ने बताए।
उनले हिमनदी पग्लिएर बनेका तालबाट उत्पन्न हुन सक्ने ग्लेसियर लेक आउटबर्स्ट फ्लड (जीएलओएफ), बाढी व्यवस्थापन, पिउने पानीको उपलब्धता, प्राकृतिक मुहानको पुनर्जीवन तथा जलवायु परिवर्तनका कारण जलस्रोतमा परिरहेको प्रभावलाई प्रमुख मुद्दाका रूपमा उठाउने उल्लेख गरेका छन्।
विशेषगरी हिमाली क्षेत्रमा हिमनदी र हिमतालसँग सम्बन्धित जोखिमले जनजीवन, पूर्वाधार तथा जलस्रोत व्यवस्थापनमा चुनौती सिर्जना गर्न सक्ने भएकाले यस विषयमा वैज्ञानिक अध्ययन, जोखिम न्यूनीकरण तथा जलवायुमैत्री योजना आवश्यक रहेको उनको भनाइ छ।
सांसद सुब्बाले सिक्किमको विशिष्ट भौगोलिक अवस्थालाई ध्यानमा राख्दै जलस्रोत संरक्षण तथा व्यवस्थापनका लागि दिगो, वैज्ञानिक र जलवायु परिवर्तनसँग अनुकूलन गर्न सक्ने उपायहरूको पक्षमा आफूले आवाज उठाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।


Leave a Comment