loader

Breaking News

मुख्यमन्त्री तामाङले गरे प्रधानमन्त्रीसँग भेट; सिक्किमका प्रमुख विषयमा छलफल

Image
 

सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तमाङले सोमबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीको दूरदर्शी नेतृत्व, निरन्तर सहयोग र प्रोत्साहनका लागि सिक्किमवासीको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरे। उनले प्रधानमन्त्री र केन्द्र सरकारको सहयोगले सिक्किमलाई शान्ति, प्रगति र समृद्धिको बाटोमा अघि बढाइरहेको उल्लेख गरे।
मुख्यमन्त्रीले हालै शुरु गरिएको ‘जीएसटी 2.0’ को शुभारम्भका लागि प्रधानमन्त्रीलाई बधाई दिए। उनले यसलाई भारतको कर प्रणालीमा रूपान्तरण ल्याउने ऐतिहासिक कदमका रूपमा व्याख्या गर्दै भने, “यसले व्यवसायिक सहजता बढाउने, साना तथा मझौला उद्यमहरूलाई सशक्त बनाउने, सहकारी संघीयता सुदृढ पार्ने र नागरिकहरूको करभार घटाउनेछ।”
मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई गत मई महिनामा सिक्किम राज्यको स्वर्ण जयन्ती समारोहमा सहभागी हुन स्वीकृति प्रदान गरेको सम्झिँदै आभार व्यक्त गरे। प्रतिकूल मौसमका कारण प्रधानमन्त्रीको भ्रमण रद्द भए पनि उनको शुभकामना सन्देशले सिक्किमवासीहरूमा गहिरो प्रेरणा जगाएको मुख्यमन्त्रीले उल्लेख गरे। यस क्रममा मुख्यमन्त्रीले पुनः आगामी नोभेम्बरको अन्त्यतिर सिक्किम भ्रमणका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा दिएका छन्।
भेटका क्रममा मुख्यमन्त्रीले सिक्किमसँग सम्बन्धित ऐतिहासिक, सामाजिक, राजनीतिक र सांस्कृतिक महत्त्वका दीर्घकालीन विषयहरू प्रधानमन्त्रीको ध्यानाकर्षणमा ल्याएका थिए। 
प्रधानमन्त्रीले सिक्किमको एकता, सांस्कृतिक समृद्धि र निरन्तर विकासको प्रशंसा गर्दै राज्यका आकांक्षाहरू पूरा गर्न सकारात्मक सहयोग गर्ने आश्वासन दिएका बताइएको छ।
भविष्यप्रति आशावादी हुँदै मुख्यमन्त्रीले  प्रधानमन्त्री मोदीको दूरदर्शी नेतृत्व र अमूल्य मार्गदर्शनमा सिक्किमले शक्ति, उद्देश्य र गरिमाका साथ सुनौलो, समृद्ध र सुरक्षित भविष्यतर्फ दृढतापूर्वक अघि बढ्ने बताएका छन्। 

 


Leave a Comment