द हिमाल वर्ल्ड
सिलगढी, 20 जनवरी 2025
कोलकाताको चर्चित आरजी कर मेडिकल कलेज एवम् अस्पतालमा ट्रेनी महिला डाक्टरको दुष्कर्म र हत्या मामिलामा दोषी ठहर भएको सञ्जय रोयलाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ। फसेलाको महत्त्वपूर्ण कुरा के छ भने दोषी सञ्जय रोय जीवनभरि जेलमा नै बस्नु पर्नेछ। सियालदाह अदालतका अतिरिक्त जिल्ला तथा सत्र न्यायाधीश अनिर्बान दासले 20 जनवरी, सोमबार यो सजाय सुनाएका हुन्।
जानकारीअनुसार सीबीआईका वकिलले दोषीविरुद्ध मृत्युदण्डको माग गरेका छन्। सीबीआईले यो मामिलालाई दुर्लभ मामिलाको संज्ञा दिएको छ। यो घटनाले सम्पूर्ण देशलाई हल्लाएको अनि सजायले समाजमा विश्वास कायम रहने सीबीआईको भनाइ छ। सञ्जय रोयलाई भारतीय न्याय संहिताको धारा 64, 66 अनि 103 (1) अन्तर्गत दोषी ठहराइएको छ। मामिलामा एकमात्र मुख्य आरोपी रहेको रोयलाई घटनाको 162 दिनपछि सियालदह कोर्टमा 59 दिनसम्म चलेको न्यायिक प्रक्रियापछि गत 18 जनवरी, शनिबार दोषी ठहर गरिएको हो। सीबीआईले यो मामिलाको जाँच गरिरहेको थियो।
उल्लेखनीय छ, 9 अगस्त, 2024 मा आरजीकर अस्पतालको सेमिनार हलबाट एक ट्रेनी महिला डाक्टरको शव भेटिएको थियो। घटनाको भोलिपल्टै कोलकाता पुलिसले सीसीटीवी फुटेज र क्राइम सिनबाट प्राप्त साक्ष्यको आधारमा सिविक भोलेन्टियर सञ्जय रोयलाई पक्रा गरेको थियो। यो मामिलामा 51 जनाको बयान रेकर्ड गरिएको थियो।
Leave a Comment