दार्जीलिङ चिया जस्तै कालेबुङलाई कालेबुङ कफीले विश्वभर चिनाउन सकियोस् भन्ने उद्देश्यसहित कालेबुङ जिल्ला प्रशासनले अघि सारेको अभियानलाई टेवा पुर्याउँदै सिन्कोना विभागद्वारा आयोजित तालिम तथा कफी विरुवा वितरण कार्यक्रम अलगढा सार्वजनिक भवनमा सम्पन्न भयो।
कार्यक्रममा कालेबुङका जिल्लापाल बालासुब्रमण्यम टी मुख्य अतिथिको रूपमा उपस्थित थिए। त्यस्तै, सभासद दावा तेन्जी शेर्पा, सभासद पिरे राई, सिन्कोना विभागका निर्देशक डा. शामुएल राई, खण्ड विकास अधिकारी भारती चिक बराइक, लाभा खण्ड सभापति साङ्गे छोयम भोटिया, पञ्चायत प्रधान सुमित छेत्री, पञ्चायत समिति कर्माध्यक्ष रेश्मा सिंह लगायत विभिन्न ग्राम पञ्चायतका प्रतिनिधि तथा कृषकहरूको बाक्लो उपस्थिति रहेको थियो।
यस अवसरमा लाभा खण्डका कृषकहरूलाई कफी खेतीसम्बन्धी आवश्यक तालिम प्रदान गर्नुका साथै धेरै संख्यामा कफीका विरुवा वितरण गरिएको छ। यसले कालेबुङलाई कफी उत्पादनको केन्द्रबिन्दु बनाउँदै विश्व बजारमा चिनाउने सम्भावना बढाउने अपेक्षा लिइएको छ।
Leave a Comment