loader

Breaking News

सीमा नियन्त्रणमा छ, सुरक्षाका लागि चौतर्फी नजर

Image
 


नेपालमा जेनजीको प्रदर्शनपछि भारत-नेपाल सीमामा सुरक्षाको कडा व्यवस्था गरिएको छ। सशस्त्र सीमा बल (एसएसबी) र स्थानीय पुलिसले संयुक्त रूपमा परिस्थितिको निगरानी गरिरहेका छन्। यसैबीच भारत-नेपाल सीमा पानीट्याङ्कीमा एडीजी (बोर्डर) अजय नन्दले परिभ्रमण गरेर स्थितिको जायजा लिए। उनले सीमा नियन्त्रणमा रहेको र सुरक्षाको कडा व्यवस्था गरिएको बताएका छन् भने नेपालमा परिस्थिति ठीक भएपछि फँसेका भारतीयहरूलाई ल्याउने प्रक्रिया पनि शुरू गरिइने जानकारी गराएका छन्। 
उल्लेखनीय छ, छिमेकी राष्ट्र नेपालमा भ्रष्टाचार, देशमा बढ्दो बेथिति र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेनजीद्वारा गरिएको आन्दोलनपछि नेपाली सेनाले मंगलबार राति 10 बजीदेखि सम्पूर्ण देशको नियन्त्रण आफ्नो हातमा लिएको छ। 
सेनाले देशभरि कर्फ्यू आदेश जारी गर्दै देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यू आदेश जारी भएको जनाएको छ । अपराधजन्य गतिविधि नियन्त्रणको प्रयासहरूमा सहकार्यका लागि सबैलाई नेपाली सेनाले आह्वानसमेत गरेको छ । हाल सेनाले राजधानीलगायतका ठाउँहरूमा गश्ती गरिरहेको छ। अर्कोतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ । मंगलबार बन्द गरिएको विमानस्थल खुल्ने निश्चित नभएको बताइएको छ। यसैबीच आन्दोलनको लाभ उठाएर देशभरिका विभिन्न कारागारहरूबाट कैदीहरू भागिरहेको खबर पनि प्रकाशमा आइरहेको छ।
नेपालमा जेन-जी प्रदर्शनको दुइ दिन बित्दा नबित्दै मंगलवार नेपालका प्रधानमन्त्री केपी शर्मा ओली घुँडा टेक्न बाध्य बन्दै आफ्नो पदबाट राजीनामा दिए।  जेनजी आन्दोलनको पहिलो दिन सोमबार पुलिसको गोली लागेर 19 जनाको मृत्यु भएको थियो भने लगभग 400 जना घाइते भएका थिए। सोमबारको घटनापछि जेनजी युवाहरूको आन्दोलन हिंसात्मक बनेको हो। आन्दोलनको बलमा सरकार ढलेपछि अहिलेको परिस्थितिमा संवैधानिक रिक्तताको अवस्था नेपालमा छाएको छ। यस्तो स्थितिमा अन्तरिम सरकार गठनको सम्भावना बढेर गएको छ। यसका लागि आन्दोलनकारी र सेना प्रमुखबीच वार्ता चलिरहेको पनि बताइएको छ।


Leave a Comment