loader

Breaking News

काठमाडौंमा अलपत्र भारतीय पीएचडी स्कलर

Image
 


नेपालमा जलवायु परिवर्तनसम्बन्धि अन्तरराष्ट्रिय सेमिनारमा सहभागी हुन गएका चार भारतीय पीएचडी स्कलर काठमाडौंमा अलपत्र परेका छन्। तीमध्ये तीनजना पश्चिम बंगालका र एकजना त्रिपुराका हुन्।
गत 5 सेप्टेम्बरको दिन उनीहरू सडकमार्ग हुँदै काठमाडौं पुगेका थिए। सेमिनारमा सहभागी मनिहार तालुकदार (मेघालय विश्वविद्यालय) पुरस्कृत समेत भएकी छिन्। बाँकी विद्यार्थीहरू कल्याणी कृषि विश्वविद्यालयका हुन्। 9 सेप्टेम्बरको दिन सेमिनार सकिएपछि फर्कन लाग्दा काठमाडौंमा जेनजीद्वारा जारी आन्दोलनका कारण उनीहरू होटेलमै अलपत्र परेका हुन्। भारतीय दूतावासले हाल उनीहरूलाई होटेलमै सुरक्षित बस्न सुझाव दिएको छ।
यस घटनाले विद्यार्थीहरूको परिवारमा चिन्ता बढेको छ। अलिपुरद्वार निवासी मनिहारका परिवारले केन्द्र र राज्य सरकारसँग छोरीसहित अन्य विद्यार्थिहरूलाई सुरक्षित भारत फर्काउने पहल गर्न माग गरेका छन्।
उल्लेखनीय छ, छिमेकी राष्ट्र नेपालमा भ्रष्टाचार, देशमा बढ्दो बेथिति र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा जेनजी युवाहरूले गत 8 सेप्टेम्बरदेखि प्रदर्शन थालेका थिए। जेनजीको प्रदर्शनको क्रममा पुलिसको गोली लागेर 19 जनाको मृत्यु भएपछि आन्दोलन उग्र बनेको थियो भने जेनजीद्वारा गरिएको आन्दोलनको फलस्वरूप ओली सरकार ढलेपछि हाल सेनाद्वारा देशभरि कर्फ्यु लगाइएको छ। कर्फ्युका कारण नेपालमा फँसेका भारतीयहरू स्वदेश फर्कन सकिरहेका छैनन्।


Leave a Comment