छिमेकी राष्ट्र नेपालमा जेन-जी युवाहरूको प्रदर्शनमा अहिलेसम्म 19 जनाको मृत्यु भएको छ भने 100 भन्दा अधिक घाइते भएका छन्। नेपालको राजधानी काठमाडौँमा आज सोमबार विशाल विरोध प्रदर्शन भयो। भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा जेन–जी पुस्ताले गरेको प्रदर्शनको क्रममा काठमाडौंमा 17 जनाको र इटहरीमा 2 जनाको मृत्यु भएको र लगभग 100 जना घाइते भएको बताइएको छ ।
काठमाडौँको बानेश्वरकेन्द्रित प्रदर्शनको क्रममा प्रदर्शनकारीलाई रोक्नका लागि पुलिसले पानीको फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको थियो। यसैबीच पुलिसको गोली लागेर 17 जना प्रदर्शनकारीहरूको मृत्यु भएको आरोप छ। घाइतेको काठमाडौँको ट्रमा, सिभिल, एभरेस्ट लगायतका अस्पतालमा उपचार भइरहेको जानकारी छ ।
उल्लेखनीय छ, सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा 'जेन–जी'हरू प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौंसहित देशका मुख्य-मुख्य शहरमा सोमबार प्रदर्शन भए।
देशमा बढ्दै गएको भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा जेन-जी पुस्ताले काठमाडौंमा सोमबार बिहानदेखि प्रदर्शन थालेका हुन्।
जेन-जी पुस्ताले एक विज्ञप्ति जारी गरेर आफ्नो आन्दोलन शान्तिपूर्ण हुने बताउँदै भ्रष्टचारीहरूलाई जवाफदेही बनाउन, सरकारमा पारदर्शिता सुनिश्चित गर्न र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने प्रदर्शनको उद्देश्य रहेको उल्लेख गरेका थिए। जेन-जीले प्रदर्शनमा सहभागी हुने सबैलाई हिंसा, तोडफोड नगर्न आग्रह गरिएको थियो भने राजनीतिक दल र नेताहरूलाई यो प्रदर्शनलाई आफ्नो स्वार्थका लागि प्रयोग नगर्न पनि अनुरोध गरेको थियो। यद्यपि प्रदर्शनको क्रममा स्थिति तनावपूर्ण बन्न पुगेको हो।
नेपालमा गत केही दिनदेखि सामाजिक सञ्जालमा ‘नेपो किड’, ‘नेपो बेबिज’ ट्रेन्डमा थियो । सरकारले दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेपछि यो ट्रेन्डले झन् धेरै गति लिएको हो । जेन-जी पुस्ताको विरोध डिजिटल हुँदै अहिले सडकसम्म पुगेको हो। यो आन्दोलन कुनै राजनीतिक उद्देश्यले प्रेरित नभएर नेपालको भविष्यका लागि भएको स्पष्ट पारिएको छ। यसको साथै उक्त प्रदर्शनमा प्रदर्शनकारीहरूमाथि कुनै प्रकारको हिंसा वा बल प्रयोग गरिएमा त्यसको जिम्मेवार सरकार हुने पनि अघावै चेताउनीसमेत दिइएको थियो।
स्मरण रहोस्,, नेपालमा फेसबुक, एक्ससहितका दर्जनभन्दा बढी सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि उक्त निर्णयप्रति देशवासीले असन्तुष्टि व्यक्त गरिरहेका छन्।
यसैबीच जेन-जी-ले पनि सरकारको निर्णय विरुद्ध सडकमा ओर्लिएर प्रदर्शन गरेको हो। प्रदर्शनलाई राजनीति दलका नेता, कलाकार लगायतले समर्थन जनाएका छन् ।
राष्ट्रिय झण्डा बोकेर सडकमा ओर्लिएका प्रदर्शनकारीहरूले राष्ट्रभक्ति गीत गाउनका साथै 'आवर फ्युचर इज नट फर सेल', से नो टु करप्सन, जेन-जी हेयर-फ्युचर क्लियर जस्ता विभिन्न नारा लेखिएका प्लाकार्डसमेत बोकेका थिए । कतिपय भने स्कुल–कलेजको ड्रेसमा देखिए। जानकारीअनुसार काठमाडौंमा करिब ४ हजारको संख्यामा युवाहरू प्रदर्शनमा सामेल भएका थिए। अर्कोतिर प्रदर्शनलाई मध्यनजर गरेर काठमाडौंको बिहानैदेखि सुरक्षा ब्यवस्था कडा पारिएको थियो।
सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध काठमाडौँलगायत पोखरा, इटहरी, बुटवल, चितवन, कावासोती, दाङ, रौतहटलगायतका ठाउँहरूमा पनि जेन-जी पुस्ता सडकमा उत्रिए।
अर्कोतिर काठमाडौं जिल्ला प्रशासन कार्यालयले बानेश्वर क्षेत्रमा कर्फ्यू जारी गरेको छ। आन्दोलनमा उत्रिएका जेन-जी पुस्ताको प्रदर्शनका क्रममा अवस्था तनावग्रस्त बनेपछि कर्फ्यू जारी गरिएको थियो जानकारीअनुसार माइतीघर, बानेश्वर, तीनकुने र शंखमुलको छेउछाउका क्षेत्रमा सोमबार राति 10 बजीसम्मका लागि कर्फ्यू जारी गरिएको छ। प्रदर्शनकारीहरू बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेपछि भने अवस्था तनावग्रस्त बन्न पुगेको बताइएको छ।
Leave a Comment