दशैँको मुखैमा डुवर्सको नगरकट्टा ब्लकअन्तर्गत पर्ने धरनीपुर चियाकमान बन्द भएको छ । कमानका श्रमिकहरू गत दुई दिनदेखि पुजा बोनसलाई लिएर आन्दोलित थिए । बिहीबार विहान कमानका म्यानेजर रञ्जन इन्दवार कमान छोडेर भागेपछि कमानमा अन्योल छाएको थियो भने बोनसको मागमा श्रमिकहरूले लगातार आन्दोलन गरिरहेका थिए । यसैबीच शुक्रबारदेखि कमान बन्द भएको छ। शुक्रबार नगरकट्टा विधानसभा क्षेत्रका विधायक पुना भेङ्डा, बीटीडब्लुयू जलपाईगढी जिल्ला कमिटिका सभापति अमरनाथ झा, नगरकट्टा विधानसभा क्षेत्रका कन्भेनर अरुण कुमार वाईबाले श्रमिकहरूसित भेटघाट गरी समस्याबारे जानकारी लिए। कमानमा उत्पन्न वर्तमान परिस्थितिलाई लिएर भाजपा नेताहरूले तृणमूल कंग्रेसलाई दोष्याएका छन् । भाजपाले उक्त समस्यालाई माथिलो तहमा पुऱ्याएर यसको उचित छानबिन गर्ने पनि विधायक भेङ्डाले बताए । कमानमा मालिक ल्याएको बहानामा आज पनि कमानलाई फाइनान्सरद्वारानै चलाइएको भाजपा नेताहरुले आरोप लगाएका छन्।
उल्लेखनीय छ, डुवर्सको नगरकट्टा ब्लकअन्तर्गत पर्ने धरनीपुर चियाकमानमा श्रमिकहरू 20 प्रतिशत बोनसको माग गर्दै बुधबार बिहानदेखि नै धरना प्रदर्शन गरिरहेका थिए। राज्य सरकारको एड्भाइजरीअनुरूप नै चियाश्रमिकहरूलाई 20 प्रतिशत बोनस दिइनु पर्ने धरनीपुर चियाकमानका श्रमिकहरूले लगातार माग गरिरहेका थिए। यसैबीच बिहीबार कमानका म्यानेजर भने कमानबाट भागेपछि श्रमिकहरू हताश बन्न पुगेका छन्।


Leave a Comment