प्रशासनको हस्तक्षेपमा चियाश्रमिकहरूले गरिरहेको राष्ट्रिय राजमार्ग 31 सी अवरोध लगभग 6 घण्टापछि हटाइयो। बकाया तलब अनि 20 प्रतिशत पूजा बोनसको दावीमा रेड ब्याङ्क चियाबगानका श्रमिकहरूले उक्त पथावरोध गरेका थिए। यस विषय लिएर भोलि अर्थात् 13 सेप्टेम्बर शनिवार डीएसली कार्यालयमा वार्ता हुने बताइएको छ।
डुवर्सको वानरहाट ब्लक अन्तर्गत पर्ने रेडब्याङ्क चियाबगानका श्रमिकहरूले आफ्ना बाकाया तलब अनि बोनसलाई लिएर शुक्रवार राष्ट्रिय राजमार्ग ३१ सी अवरोध गरेका थिए। प्रशासन पक्षबाट मौखिक आश्वासनपछि श्रमिकहरूले अवरोध हटाएको बताइएको छ।
पटक-पटक धोका खाएका चियाश्रमिकहरूले आफ्नो माग पूरा हुने हो होइन, यसमाथि विश्वास गरिहाल्न सकिरहेका छैनन्। किनकि, ३४ वर्षको बाम शासनकालदेखि बन्द रहेको रेडब्याङ्क समूहका चियाबगान धरणीपुर, रेडब्यांक, सुरेन्द्रनगरका चियाश्रमिकहरूलाई राज्यमा रहेको सरकारले कुनै ठोस निकास दिन नसकिरहेको श्रमिकहरूको गुनासो छ।
स्मरण गराइन्छ, गत केही दिनअघि राज्य सरकारले राज्यका चियाकमानमा यसपालि 20 प्रतिशत गरेर बोनस दिइनुपर्ने एउटा एडभाइजरी जारी गरेको थियो।
दुई दिनअघि मात्र राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी उत्तर बंगाल आएकी थिइन्। उनको भ्रमण अवधि पनि उनले चिया श्रमिकहरुलाई २० प्रतिशत पूजा बोनसको कुरा दोहोऱ्याएकी थिइन्। तर मुख्यमन्त्री उत्तर बंगालबाट फर्किएको एक दिनपछि शुक्रवार डुवर्सका चियाश्रमिकहरू फेरि बोनसलाई लिएर आन्दोलित बन्न बाध्य बनेका छन्।
Leave a Comment