loader

Breaking News

2026 : पहाड़बाट को-को हुने विधायक उम्मेदवार?

Image
 

विधानसभा चुनाउ : सम्भावित उम्मेदवारहरू को-को?

चुनाउ आउनअघि नै उठ्नथाले सम्भावित प्रार्थीहरूका नाउँ

विधानसभा चुनाउ : उठ्न थाले सम्भावित प्रार्थीका नाउँहरू

गोर्खाहरूको महान् चाड़हरू दशैं र तिहार मुखैमा आइसकेको छ। चाड़बाड़को रमझम शुरू हुनै आँटेको छ। चाड़हरू सकिएपछि विस्तारै चल्न शुरू हुनेछ चुनावी हावा..... 

लगभग अबको 8-9 महिनापछि पश्चिम बंगाल राज्यमा विधानसभा चुनाउ हुनेछ।

यता, आउँदो 28 अगस्त बिहीवारको दिन पहाड़को सत्तासीन दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रिय कमिटीको बैठक बस्दैछ.....उक्त बैठकलाई सम्भवत: आउँदो वर्ष हुने राज्य विधानसभा चुनाउको तयारीमाथि थालनीको सूचक मान्न सकिन्छ।

उसै पनि त्यसको केही पछि 9 सेप्टेम्बर भागोप्रमोको स्थापना दिवस हो। सो दिन पार्टी अध्यक्ष अनित थापाले आगामी विधानसभा चुनाउलाई लिएर पार्टीको अड़ानलाई संक्षेपमै सही संकेतस्वरूप केही राख्न सक्ने सम्भावना पनि छ।

दशैं-तिहार-छठ आदि चाड़पर्वहरू सकिएपछि दार्जीलिङ-कालेबुङ पहाड़मा पक्कै पनि चुनावी तातो हावा बग्न शुरू हुनेछ.... अनि त चुनावी कसरतहरू....राजनैतिक खिँचातानी सँगसँगै भित्र....भित्रै  के-के खिचड़ीहरू पाक्नथालेपछि त्यसको वास्ना त चारैतिर फैलिने नै भयो.....

चुनाउ आउन अलिक समय रहे पनि अहिलेदेखि नै प्रार्थीहरूको सम्भाव्य नाउँहरूबारे कानेखुशी शुरू भइसकेका छन्.....गाउँ-टोल, शहर-बजारहुँदी घाइँघुइँ हल्ला चल्न थालिसकेका छन्।

चुनावी हावाले पहाड़ गर्मिनअघि नै यसपालिको विधानसभा चुनाउमा पहाड़का तीन विधानसभा आसनका लागि को-को मैदानमा ओर्लिने हुन्..... कस-कसको नाउँ पार्टीहरूका हेडलिस्टमा पर्दैछन्.... को सम्भावित छन्....को अड़कबाजीमा परेका छन्.... को विकल्पमा रहेका छन्.... यी सबैको गाँठो विस्तारै खुल्दै जाने नै हो....

आउँदो विधानसभा चुनाउका लागि पहाड़मा भागोप्रमो लगायत अन्यान्य पार्टीका सम्भावित प्रार्थीहरूको नाउँ चर्चामा आउन शुरू भइसकेका छन्।

यसै क्रममा दार्जीलिङ विधानसभा आसनको कुरा गर्ने हो भने, दार्जीलिङबाट भागोप्रमोको उम्मेदवारको टिकट समाजसेवी विक्रम राईलाई मिल्नसक्ने अनुमान लगाइँदैछ। तर उनी समाजसेवी भएकाले राजनीतिमा उति रुचि नदेखाएको भन्ने खबर पनि सुनिँदैछ.... यति मात्र होइन, विक्रम राईको नाउँ 2021 -को विधानसभा अनि 2024 –को लोकसभा चुनाउको समय पनि सम्भावित प्रार्थीका लागि उठेको थियो तर उनले राजनीतितर्फ चासो नराख्ने आफ्नो धारणा राखेका थिए।

यसैबिच, दार्जीलिङ प्रार्थीकै रूपमा अमर लामा,  केशवराज पोखरेल, आलोक कान्तमणि थुलुङ, नोर्देन शेर्पा आदिका नाउँ पनि घाइँघुइँ सुनिँदैछ। अमर लामाको नाउँ दार्जीलिङसितै खरसाङ उम्मेदवारको रूपमा पनि उठिरहेको हल्ला छ।

यसैबिच, अजय एडवर्ड्स दार्जीलिङ आसनका लागि आईजीजेएफ-का मुख्य दावीदार रहेको सुनिँदैछ। एडवर्ड्सको उम्मेद्वारिता सबैका लागि महत्त्वपूर्ण फ्याक्टर बन्नसक्ने चर्चा पनि उत्तिकै छ। भागोप्रमो र गोरामुमोका लागि अजय एडवर्ड्स सबैभन्दा ठूलो चुनौती भएकाले आईजीजेएफ –को दार्जीलिङ प्रार्थीका रूपमा एडवर्ड्स खड़ा भइदिएको खण्डमा भागोप्रमो र गोरामुमोले आ-आफ्ना रणनीतिलाई कसरी प्रस्तुत गर्नेहुन्, त्यो पनि चर्चाकै विषय छ। निरज जिम्बाको उम्मेदवारिता भाजपा गठबन्धनकै रूपमा यथावत् रहने अथवा अर्कै कसरतमा खरसाङबाट उठ्न सक्ने हल्लाहरू पनि कताकता सुनिँदैछ।

यता, बीजेपीसित गठबन्धन गर्नु अथवा एक्लै चुनाउमा भाग लिए पनि दार्जीलिङबाट नोमन राई, सुरज सुब्बाको नाउँ गोजमुमो अथवा गठबन्धन उम्मेदवारको रूपमा अघि आइरहेको छ।

अर्कोतिर, विधानसभा चुनाउमा एडवर्ड्स र गोजमुमोबिच  गठनबन्धन हुनसक्ने झीनो सम्भावना पनि छँदैछ। यस्तो स्थितिमा दार्जीलिङ एडवर्ड्सलाई सुरक्षित राखिदिएर कालेबुङ चाहिँ गोजमुमोलाई छोड़िदिने विषयमा यी दुइ दलबिच चुनावी समझौता हुनसक्ने अनुमान पनि धेरैले लगाइरहेका छन्। तर, यसैबिच आईजीजेएफ-ले पहाड़का तीनैवटा आसनमा आफ्नै पार्टीका कार्यकर्तालाई नै टिकट दिने कुरा चलिरहेको पनि घाइँघुइँ सुनिँदैछ।

यसरी नै, खरसाङमा भागोप्रमोका सम्भावित उम्मेदवारको सूचीमा अमर लामा, विन्नी शर्मा, अनुप गदाल, अनोस थापा आदिका नाउँहरू पनि अघि आइरहेछन्। अर्कोतिर, बीजेपीले  पहाड़का दलहरूसित चुनावी गठनबन्धन गर्दै खरसाङमा बीजेपी प्रार्थीका रूपमा समतलका भाजपा नेता हेमन्त गौतमलाई टिकट दिनसक्ने हल्ला पनि चलिरहेछ। यता, आईजीजेएफ-ले खरसाङबाट सम्भवत पूर्व आईपीएस अधिकारी नर्बु छिरिङ अथवा महेन्द्र छेत्रीलाई टिकट दिनसक्ने अनुमान धेरैले लगाइरहेका  छन्।

कालेबुङ आसनको कुरा गर्ने हो भने कालेबुङमा रूदेन सादा लेप्चा नै  फेरि दोस्रोचोटि पनि भागोप्रमो प्रार्थीका प्रबल दावेदारका रूपमा रहेको सुनिँदैछ। उनीसितै अन्य केही नाउँहरू उठिरहे पनि लेप्चाको सम्भावनाले  बलियो टेवा पाएको छ भन्नेहरू पनि धेरै छन्।

समय 8-9 महिना छँदैछ.... दशैं-तिहार सकिएपछि  चुनावी हावा विस्तारै चल्नेछ.... हल्लैहल्ला र कानेखुशीबिच दार्जीलिङ, खरसाङ र कालेबुङ आसनका लागि क्षेत्रीय पार्टीहरूले के सोच्दैछन्....? कस-कसलाई प्रार्थीको टिकट दिने मन बनाउँदैछन्....?

हल्ला शुरू भइसकेको छ..... अनुमान लाउनेहरूले लाउन थालिसकेका छन्.... अड़कलबाजी गर्नेहरूले गर्न थालिसकेका छन्......

यसपालि चुनावी मैदानमा को-को देखिने हुन्?

कस्ता-कस्ता नयाँ अनुहारहरूको इन्ट्री हुने हो?

हेर्दैजाऔं ।


Leave a Comment