जीटीए मुख्य कार्यपाल अनित थापाले सोमवार शहरी विकास तथा नगर प्रशासन विभागीय मन्त्री फिराद हाकिमसित भेट गर्दै दार्जीलिङ, खरसाङ, कालेबुङ र मिरिक नगरपालिकाहरूमा अत्यावश्यक ढल निकास प्रणाली निर्माण तथा पानी आपूर्ति सुदृढीकरणका लागि तत्काल कार्वाहीको मागका साथ ज्ञापन चढ़ाए।
मन्त्रीलाई दिइएको उक्त ज्ञापनमा आफूले पहाड़का चारैवटा नगरपालिका क्षेत्रहरूमा आधुनिक ढल (सेवरिज) प्रणाली निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गर्न तथा लगानीको माग गरेको थापाले बताएका छन्। पहाड़का सबै नगरपालिकाहरू प्रशासनिक, सांस्कृतिक तथा पर्यटकीय केन्द्रका रूपमा महत्वपूर्ण भए पनि पुरानो र अपूरो ढल व्यवस्थाका कारण जनस्वास्थ्य र वातावरणीय क्षति भइरहेको तिनले ज्ञापनमा उल्लेख गरेको जनाएका छन्। उचित ढल व्यवस्थाको अभावमा यहाँको पर्यटन, विकास, नगरको छवि तथा वातावरणीय संवेदनशीलता थप खतरामा पर्नजाने कुरा पनि आफूले ज्ञापनमा थापाले उल्लेख गरेका छन्।
यसका साथै दार्जीलिङ नगरपालिकामा अमृत 2.0 योजनाअन्तर्गत पानी आपूर्ति सुदृढीकरण मागसमेत आफूले मन्त्रीसमक्ष गरेको बताएका छन्। यसैबिच, मन्त्री हाकिमले पनि आफूले राखेका समस्यामाथि पहल शुरू गर्ने वचन दिएको थापाले जनाएका छन्।
Leave a Comment