संसदको शून्यकाल अवधि राज्यसभा सांसद हर्षवर्द्धन शृङ्गलाले भारतको चियाक्षेत्रमा विशेषगरी दार्जीलिङ तथा उत्तर-पूर्वी क्षेत्रका चियाको बढ्दो सङ्कटमाथि गम्भीर चिन्ता व्यक्त गरे। बुधवार उनले शून्यकालमा बोल्दै चिया उद्योगको संकटमाथि चिन्ता व्यक्त गर्दै उद्योगसित निर्भरशील कामदारहरूको जीविकोपार्जन र सम्पदा दुवैको सुरक्षा गर्न तत्काल कदम उठाउन आवश्यक रहेको बताए।
उनले चिया उद्योगमा 10 लाखभन्दा बढी कामदारहरू प्रत्यक्ष रूपमा रोजगारीमा रहेको अनि प्राय 60 लाख मानिसहरू यस उद्योगमा निर्भर रहेको तथ्य पनि सदनसमक्ष राखे।
उनले जलवायु परिवर्तन, घट्दो वन्य क्षेत्र, श्रमको अभाव, मूल्य अस्थिरता र कम गुणस्तरको चिया आयातमा तीव्र वृद्धि आदि यस क्षेत्रमा मुख्य चुनौतीहरू रहेको तिनले बताए। 2025 को पहिलो 6 महिनामा अफ्रिकी देशहरू र नेपालबाट चिया आयात लगभग 45 प्रतिशतले बढ़ेको अनि जसको कारण दार्जिलिङ चियाको विश्वव्यापी ब्रान्ड तथा मूल्यलाई कमजोर पार्दै लगिरहेको विषयलाई पनि तिनले औंल्याए। यसैबिच, उनले दार्जीलिङ चियाको उत्पादनमा आएको ह्रासको आँकड़ा पनि सदनसमक्ष राखे।
यसका साथै शृङ्गलाले केन्द्रिय वाणिज्य मन्त्रीलाई कम गुणस्तरको चिया आयात रोक्न र दार्जिलिङ, असम र नीलगिरीका प्रिमियम GI-ट्याग गरिएको चियालाई सुरक्षित राख्न बलियो उपायहरू अविलम्ब लागू गर्न तत्काल हस्तक्षेपका लागि आग्रहसमेत गरे।
दार्जीलिङ्ग चिया केवल एक उत्पादन मात्र होइन; यो विश्वव्यापी सम्पदा र भारतको गौरव हो। यसको संरक्षण गर्नु भनेको पुस्तौँदेखि यसलाई पालनपोषण गर्दै आएको समुदायको संरक्षण गर्नु हो भनी शृङ्गलाले बताए।


Leave a Comment