loader

Breaking News

23 दिसम्बर : पार्टी स्थापनाको पहिलो वर्षगाँठ मनाउँदै आईजीजेएफ

Image
 

भोलि अर्थात् 23 दिसम्बर मंगलवार। हाम्रो पार्टी विघटन गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्ट गठन भएको एक वर्ष पुगेको अवसरमा पार्टीले आफ्नो स्थापनाको पहिलो वर्षगाँठ मनाउँदैछ।

पहाड़को दोस्रो शक्तिशाली एवम् जीटीएमा विपक्षी दलको रूपमा मानिएको आईजीजेएफ-ले यस दिन के-कस्ता भावी राजनैतिक रूपरेखाहरू तय गर्ने हो, पार्टीमा नयाँ अनुहारहरू देखिने हुन् होइनन्, आउँदो वर्ष 2026 –मा हुने पश्चिम बंगाल विधानसभा चुनाउका लागि पार्टीले के-कस्ता टेकहरू अघि सार्ने हो सबैको नजर भोलि हुने कार्यक्रममाथि रहेको छ।

आईजीजेएफले आफ्नो स्थापना दिवस वृहत् रूपमा नगरेर दार्जीलिङको गोर्खा दु:ख निवारक सम्मेलन (जीडीएनएस) भवनमा सामान्य रूपमा गर्नेभएको छ। 

स्मरण गराइन्छ, दार्जीलिङको जिमखाना हलमा 22 दिसम्बर, 2024 –को दिन हाम्रो पार्टीलाई विघटन गर्दै अजय एडवर्ड्सको नेतृत्वमा इण्डियन गोर्खा जनशक्ति फ्रण्ट गठन गरिएको थियो। पार्टीको स्थापना दिवस 22 दिसम्बरको दिन पालन नगरेर भोलि 23 दिसम्बरको दिन गर्नु अनि स्थापना दिवस वृहत् रूपमा नगरेर सामान्य रूपमा गर्नुको कारणबारे पार्टी नेता एनबी खवासले अगावै जानकारी गराइसकेका छन्। उनको भनाइ अनुसार स्थापना दिवसकै दिन अथवा 22 दिसम्बरमा पार्टी प्रमुख एडवर्ड्सले विशेष मुद्दाका कारण जलपाइगढ़ी अदालतमा व्यक्तिगत रूपमा उपस्थिति दिनुपरेकाले यो कार्यक्रम 23 दिसम्बरमा गरिएको हो। त्यसैगरी, गत 4 अक्टोबरको प्राकृतिक प्रकोपको कारण ज्यान गुमाउनेहरूप्रति समवेदना प्रकट गर्दै पार्टीले स्थापना दिवस वृहत् रूपमा नगरेर सामान्य रूपमा गरेको हो।

पार्टी स्थापना दिवसको दिन आईजीजीएफ-ले ठूलै कार्यक्रम गर्ला भन्ने धेरैले सोचेका थिए तर अहिलेलाई सामान्य रूपमा कार्यक्रम गरे पनि चुनाउअघि पार्टीले आफ्ना कार्यक्रमहरू अघि सार्ने पार्टी सूत्रले जनाएको छ। 

वर्तमानमा केन्द्रिय कोर कमिटी मात्र बनिएको आईजीजेएफ-ले सम्भवत भोलि समष्टि कमिटीहरू गठन गर्नेछ। यसका साथै, भोलिको कार्यक्रममा अजय एडवर्ड्सले कतिपय नेतृत्वहरूलाई पार्टीको पदभार सुम्पिइनसक्ने पनि सम्भावना रहेको बताइएको छ।


Leave a Comment