loader

Breaking News

तिब्बतले गुमायो आशाको संरक्षक, कालेबुङले प्रमुख नागरिक

Image
 

द हिमाल वर्ल्ड
कालेबुङ, ९ फरवरी 

बौद्ध धर्मगुरु १४औं दलाई लामाका जेठा दाजु ग्यालो थोन्डुपको 8 फरवरी शनिवार कालेबुङमा भयो निधन। उनी ९७ वर्ष पुगेका थिए। 
उनको निधनको खबर पाउनासाथ कालेबुङका विभिन्न संघ-संस्था एवम् समाजहरू तिनको निवासस्थान आठ माइलमा भेला भएका थिए भने हिमालच प्रदेशको धर्मशालाबाट थोन्डुपकी दिदी अनि परिवारका सदस्यहरू लगायत गण्यमान्य व्यक्तिहरू कालेबुङ आइपुगेका छन्। बौद्ध परम्परा अनुसार पूजा-अर्चनाहरू भइरहेको छ अनि धर्मशालाबाट मानिसहरू आउने क्रम जारी रहेको छ।
उनको अन्तिम संस्कार 11 फरवरी मंगलवार सम्पन्न हुने बताइएको छ। 
सन् १९२८ -मा तिब्बतको आम्दो क्षेत्रमा जन्मिएका उनी तिब्बतेली इतिहासका एक उच्च व्यक्तित्व थिए।  तिब्बत उद्देश्यका लागि अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्न अथक प्रयास गर्दै एक प्रमुख राजनैतिक रणनीतिकारको रूपमा उनले तिब्बती आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले आफ्नो जीवन तिब्बतेली जनताको सङ्घर्षमा समर्पित गरे। 
 सन् १९३९ -मा उनी आफ्नो परिवारसँग ल्हासा पुगेका थिए। १४ वर्षको उमेरमा उनी मानक चीनियाँ अनि चीनियाँ इतिहास अध्ययन गर्न चीनको नानजिङ गए। त्यहाँ रहँदा उनले चियाङ काई-शेक लगायतका प्रमुख व्यक्तित्वहरूसँग सम्बन्ध गाँसे। सन् १९४८ -मा उनले कुओमिन्ताङ सेनापतिकी छोरी झु दानसँग विवाह गरे। चीनमा राजनैतिक तनाउ बढ्दै जाँदा उनले सन् १९४९ -मा नानजिङ छोडेर सधैंका लागि भारतको कालेबुङ शहरमा आई बस्नथालेको थाहा लाग्दछ।
कालेबुङ आएपछि उनले तिब्बत स्वतन्त्रताका लागि आफ्नो प्रयास यहीँबाट जारी राखे। उनको संस्मरण पुस्तक द नूडल मेकर अफ् कालिम्पोङ, तिब्बतको पहिचान र न्यायका लागि लड़ाईंको एक शक्तिशाली प्रमाण बनिदिएको छ। यति मात्र होइन, उक्त पुरस्तकले तिब्बतको राजनैतिक संघर्ष र त्यसमा उनको संलग्नता एवम् आन्तरिक दृष्टिकोण परिलक्ष्यित भएको छ भने उक्त पुस्तक अन्तर्राष्ट्रिय बेस्टसेलर बनेको पनि थाहा लाग्दछ।
थोन्डुपले आफ्नो जीवनभरि तिब्बतको राजनैतिक परिदृश्यमा निर्णायक भूमिका खेलेको कुरा तिब्बती स्वायत्तताको वकालत गर्न विश्वव्यापी नेताहरूसँग उनको संलग्नताले प्रष्ट्याउँदछ। 
चीनियाँ, तिब्बती र अंग्रेजी भाषा धारा-प्रवाह बोल्न र लेख्नसक्ने ग्यालो थोन्डुपले निर्वासनमा रहेको समय तिब्बती सरकार र चीन गणतन्त्र (ताइवान) र जनवादी गणतन्त्र चीन दुवैबिच अर्ध-आधिकारिक सम्पर्कहरूलाई सहज बनाएका थिए। 
उल्लेखयोग्य कुरा त के छ भने, दलाई लामाको अनुमति लिएर थोन्डुपले  सन् १९७९ -मा खुल्ला राजनैतिक वार्ता शुरु गर्न चिनियाँ नेता देङ सियाओपिङलाई भेटेका थिए। १९९० -मा उनले दलाई लामाको अनौपचारिक दूतको रूपमा काम गर्दै चीनको धेरै आधिकारिक भ्रमण गरेको थाहा लाग्दछ।
यसबाहेक, ग्यालो थोन्डुप एक उद्यमी थिए। सन् १९६० –मा उनले कालेबुङमा चाउचाउ कारखाना स्थापना गरे, जुन उनको जीवनको एक महत्त्वपूर्ण भाग बन्यो। 
तिनको निधनमा गहिरो शोक व्यक्त गर्दै तिब्बती समुदायका विभिन्न समाजहरू लगायत कालेबुङका संघ-संस्था एवम् व्यक्तिविशेषले तिब्बतले आफ्नो इतिहास र आशाको एक साँचो संरक्षक गुमाएको तथा कालेबुङले एक प्रमुख नागरिक गुमाएको मन्तव्य पोखेका छन्।
तिब्बतको राजनैतिक यात्रामा ग्यालो थोन्डुपको योगदान र उनको प्रतिबद्धतालाई सधैं सबैले सम्झनेछन् अनि सम्मान गर्नेछन्।
यसैबिच, रिजनल टिबेटन वुमन एसोसिएशन कालेबुङकी प्रेसिडेन्ट चुङ्दा भोटियाले थोन्डुपको निधनप्रति दुख व्यक्त गर्दै उनको अन्तिम संस्कारबारे जानकारी गराइन्.... 


Leave a Comment