loader

Breaking News

सीएम-को मिरिक भ्रमणपछि सबैको ध्यान रिभ्यू मिटिङमा

Image
 

बाढ़, भल-पैह्रोको क्षयक्षति विषय लिएर जीटीए सभाले मुख्य प्रस्ताव ग्रहण गरेको एक दिनपछि अनि दार्जीलिङमा हुने महत्त्वपूर्ण रिभ्यू मिटिङको एक दिनअघि 14 अक्टोबर मंगलवार राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी दार्जीलिङ पहाड़को सबैभन्दा धेर प्रभावित क्षेत्र मिरिक पुगिन्। 
मुख्यमन्त्री मिरिक पुग्नासाथ सबैभन्दा पहिले उनी पैह्रोको चपेटमा परी ज्यान गुमाउने शोकित परिवारहरूमध्ये मिरिक नगरपालिका वार्ड नम्बर 3 - लेकसाइडमा एउटै परिवारको तीनजना सदस्य गुमाएको शोकित परिवारसित भेट्न पुगिन् अनि  केहीक्षण कुराकानी गरिन्।
त्यसपछि उनी मिरिक बजारस्थित सार्वजनिक भवनमा रहेको रिलिफ क्याम्प गएर विस्थापित मानिसहरूसित भलाकुसारी गरिन्। यसैबिच उनले राहत पाइरहेका छौ कि छैनौ भनी पीड़ितहरूलाई सोधिन्। यसका साथै, पीड़ितहरूका विभिन्न सरकारी कागज-पत्र बनाउन लगाइएको क्याम्पको पनि तिनले निरीक्षण गरिन्। अनि शिविरमा बसेका नानीहरूसित गफ गरिन्। उनले ससाना नानीहरूले बनाएका चित्रहरू हेरिन्, नानीहरूले दिएका फूलगुच्छा थापिन् अनि उनीहरूलाई धन्यवाद दिँदै मिठाई बाँड़िन्। 
त्यसपछि उनी सोझै सुकेपोखरी पुगेर बीडीओ कार्यालयमा एउटा प्रशासनिक बैठक गर्दै चार शोकित परिवारलाई 5 लाख रुपियाँको चेक अनि दशजनालाई नोकरीको पत्र प्रदान गरिन्। यसका साथै घर क्षतिग्रस्त हुनेहरूलाई 1 लाख 20 हजार रुपियाँ गरेर दिने वचन पनि दिइन्।
मुख्यमन्त्रीले मिरिक आई भेट गरेको वार्ड नम्बर 3 –का शोकित परिवारका सदस्यहरूले सीएम आएर आफूहरूसित भेट गरेको अनि केही कुराकानी गरेको बताए। यस्तो दुखको घड़ीमा नगरपालिका अध्यक्ष, सभासद, जीटीए मुख्य कार्यपाल लगायत उच्च अधिकारीवर्ग सबैबाट आफूहरूले सहयोग  पाइरहेको जनाउँदै उनीहरूले सबैप्रति आभार व्यक्त गरे।
13 अक्टोबर सोमवार दार्जीलिङमा बसेको जीटीए-को आकस्मिक सभामा भल-तथा पैह्रोको चपेटमा परेर 21 जनाले ज्यान गुमाएको र एकजना पर्यटक निखोज बन्नुका साथै 4 सयभन्दा धेर पैह्रो गएको, लगभग 6 सय जति घर क्षतिग्रस्त बनेको.... 318  बाटो ...75 वटा कल्भर्ट, 14 वटा पुल, 813 झोड़ा-नालाहरू लगायत निजी देवालहरू भत्किएको  अनि  60 वटा शैक्षिक संस्थानहरू प्रभावित भएको जानकारीका साथ 950 करोड़ रुपियाँभन्दा धेर सम्पत्तिको क्षयक्षति भएको रिपोर्ट प्रस्तुत गरेको थियो। यसैबिच, 24 घण्टाभित्र सबै आँकड़ाहरू संग्रह गरेर उक्त रिपोर्ट सम्भवत भोलिको रिभ्यु मिटिङमा जीटीए पक्षबाट मुख्यमन्त्रीलाई बुझाइने छ। 
यस्तो स्थितिमा भोलि अर्थात् बुधवार दार्जीलिङमा हुने मुख्यमन्त्रीको प्रशासनिक रिभ्यू मिटिङमा के-कस्ता घोषणाहरू गरिइने हुन् अनि जीटीएले कस्तो  रिपोर्ट बुझाउने हो, यसैमा सबैको ध्यान टिकेको छ।


Leave a Comment