लेप्चा समुदायको प्रमुख पर्व टेण्डोङ ल्हो रूमफातको अवसरमा गान्तोकमा भव्य समारोह आयोजित गरियो। पर्वको अवसरमा चार दिनसम्म विविध सांस्कृतिक र साहित्यिक कार्यक्रम आयोजित गरिएको थियो जसको समापन समारोह आज मनन भवनमा सम्पन्न भयो।
पर्वको अवसरमा मुख्यमन्त्री पीएस गोले मुख्य अतिथिको रूपमा उपस्थित रहँदै टेण्डोङ ल्हो रूमफातलाई केवल लेप्चा समुदायको मात्र नभई सम्पूर्ण सिक्किमको साझा पर्वका रूपमा वर्णन गरे। उनले यसको ऐतिहासिक तथा सांस्कृतिक महत्व औंल्याउँदै प्रकृतिसँगको गहिरो सम्बन्धले यस पर्वलाई विशेष बनाएको बताए।
समारोहमा मन्त्री पिन्छो नामग्याल लेप्चा र मन्त्री एनबी दाहालले सम्बोधन गर्दै वर्तमान सरकारले सबै जाति र जातीय संगठनलाई समान सम्मान र प्राथमिकता दिँदै आएको उल्लेख गरे। आरएमआरकेका अध्यक्ष ओटी लेप्चाले स्वागत मन्तव्य राखे भने आरएमएटीका अध्यक्ष छेवाङ नोर्बु लेप्चाले पर्वको औचित्यमाथि प्रकाश पार्दै केही मागहरू प्रस्तुत गरे।
मुख्य समारोहका अवसरमा मुख्यमन्त्री मुन बुङथिङहरूले आयोजना गरेको धार्मिक अनुष्ठानमा पनि सहभागी बनेर पारम्परिक पुजामा भाग लिए।
Leave a Comment