सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) सरकारले आज पहिलो आमा सम्मान दिवस पालन गरेर 32 हजार अधिक आमाहरूलाई आमा सशक्तिकरण योजनाको चेक वितरण शुरु गरेको छ। आज रम्फू खेलमैदानमा आयोजित आमा सम्मान दिवसमा मुख्यमन्त्री पीएस गोलेले प्रत्येक निर्वाचन क्षेत्रका 10-10 जना आमालाई सम्मान गर्दै चेक हस्तान्तरण गरे। योजना अन्तर्गत चयनित अन्य लाभार्थी आमाले अब सम्बन्धित बीडीओबाट योजनाको लाभ लिनेछन्।
एसकेएम पार्टीले 10 अगस्तलाई जन उम्मुक्ति दिवसको रूपमा पालन गर्दै आएको थियो। यस वर्ष पार्टीको आठौं जन उन्मुक्ति दिवसलाई सरकारले पहिलो आमा सम्मान दिवसको रूपमा पालन गर्ने अधिसूचना जारी गरेको थियो भने अब प्रत्येक वर्ष 10 अगस्तलाई आमा सम्मान दिवसकै रूपमा पालन गर्ने मुख्यमन्त्री गोलेले घोषणा गरेका छन्।
सरकारले कुनैपनि नियमित आयस्रोत नभएका सिक्किमका आमाहरूलाई आर्थिक सहयोग गर्नका लागि अभिबाटै आमा सशक्तिकरण योजनाको सञ्चालन गर्दै आएको थियो। यस योजनाबाट लाभार्थी आमाहरूलाई प्रत्येक वर्ष 40 हजार रुपियाँ आर्थिक सहयोग दिने सरकारको कार्यक्रम छ। यस वर्षको लाभ आजको कार्यक्रमबाट वितरण शुरु गरियो भने पहिलो किस्तिमा सबैलाई 20 हजार रुपियाँ सरकारले दिने र दोस्रो किस्ति यसै आर्थिक वर्षभित्र आगामी मार्च महिनासम्ममा प्रदान गरिने मुख्यमन्त्रीले जानकारी दिएका छन्। यस योजनाले सिक्किमका महिलाहरूको आर्थिक साथै सामाजिक उत्थान र विकासमा सहयोग पुग्नेछ भन्ने सरकारको विश्वास रहेको छ।
आज रम्फू खेलमैदानमा आयोजित पहिलो आमा सम्मान दिवसमा राज्यभरिबाट हजारौंको संख्यामा लाभार्थी आमा साथै मानिसहरूको उपस्थिति रहेको थियो। यसै कार्यक्रमको अवसर पारेर ग्राम विकास विभागले राज्यका विभिन्न जिल्लाबाट चयनित भएका 4200 आमाहरूलाई आमा सहयोग योजना मार्फत सिलिन्डर भर्नका लागि वित्तीय अनुदानस्वरूप चेक वितरण गरेको छ। यस योजनाबाट लाभार्थी आमाले वार्षिक 44 सय रुपियाँ प्राप्त गर्दछन्।
कार्यक्रममा उत्कृष्ट पीडब्ल्यूडी वर्कर, उत्कृष्ट सफाइ मित्र, उत्कृष्ट आँगनवाडी कार्यकर्ता, उत्कृष्ट आशा कार्यकर्ता, उत्कृष्ट अस्पताल सफाइ मित्र, उत्कृष्ट 'मिड डे मिल' कुक, उत्कृष्ट पञ्चायत आदीको रूपमा चुनिएका आमाहरूलाई पनि सरकारले सम्मान जनायो। महिला, बाल विकास, वरिष्ठ नागरिक एवं दिव्याङजन विभागको तत्वावधानमा आयोजित यस कार्यक्रममा लाभ वितरण सम्बन्धि विभागहरूले सरकारी योजनाबारे वृत्तचित्र मार्फत लाभार्थीहरूलाई योजनाको उदेश्यबारे जानकारी गराए।
आजको कार्यक्रममा नारी शक्तिले मुख्यमन्त्री पीएस गोलेलाई अभिनन्दन जनाए। यसै अवसरमा नारी अदालतको पनि विधिवत रूपमा शुभारम्भ गरिएको छ। पहिलो आमा सम्मान दिवसको कार्यक्रममा मुख्यमन्त्री पीएस गोलेकी आमा धनमाया तामाङ पनि उपस्थित रहेकी थिइन। यस अवसरमा बोल्दै मुख्यमन्त्री गोलेले आर्थिक र सामाजिक रूपले पछि परेका सिक्किमका आमाहरूको उत्थानका लागि आमा सम्मान दिवस शुरु गरेको र समाजमा पछि परेका सबै आमालाई सरकारले निरन्तर सहयोग गर्ने बताए।
Leave a Comment