loader

Breaking News

लोकसभा सांसद इन्द्रहाङ सुब्बाले एनएच 10 को समस्या समाधान गर्न आग्रह

Image
 

सिक्किमका लोकसभा सांसद डा. इन्द्र हाङ सुब्बाले केन्द्रिय सडक परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीलाई भेटी गरेर बाढी तथा पहिरोका कारण बारम्बार प्रभावित हुँदै आएको एनएच 10 को समस्यामा तत्काल हस्तक्षेप गर्न आग्रह गरेका छन् । राजधानी गान्तोकदेखि सेभोकसम्म जोडिने यो राजमार्ग विशेष गरी पश्चिम बङ्गालको कालेबुङ जिल्लास्थित मल्ली–टिस्ता बजार खण्डमा वर्षायाममा टिस्ता नदीको बढ्दो बहावका कारण बारम्बार अवरुद्ध हुने गरेको उनले स्मरण गराए ।

सुब्बाले आफ्नो ज्ञापनपत्रमा 2023 को विनाशकारी टिस्ता नदी बाढीपछि नदीको संरचनामा ठूलो भौगोलिक परिवर्तन आएको उल्लेख गर्दै, गाद, ढुंगा–माटो थुप्रिँदा नदीको सतह करिब 14 मिटरले बढेको र यसले नदीको वहन क्षमता घटाएर सडकमा डुबानको खतरा बढाएको बताए । यसले सेभोकदेखि मल्लीसम्मका धेरै स्थानहरूमा बाढीको जोखिम बढाउनुका साथै स्थानीयवासी, यात्रु र आपतकालीन सेवा प्रभावित भएको उनको भनाइ छ ।

उक्त समस्याको दीर्घकालीन समाधानका लागि उनले तत्काल प्रविधिक मूल्याङ्कन, नदी किनार सुदृढीकरण, निकास प्रणाली सुधार, गाद व्यवस्थापन तथा नदी तालिमजस्ता बाढी न्यूनीकरणका उपाय तत्काल अघि बढाउन आग्रह गरे । साथै, बाढी जोखिमयुक्त खण्डलाई बाइपास गर्ने गरी टिस्ता नदीको विपरीत किनारमा सेभोक–मेल्ली वैकल्पिक ग्रिनफिल्ड राजमार्ग निर्माण गर्न सरकारलाई सुझाव दिएका छन् ।

अल्पकालीन समाधानका रूपमा उनले एनएच–10 का अति संवेदनशील स्थानहरूमा अस्थायी उचालिएका सडक संरचना (इलेभेटेड करिडोर) बनाउन आग्रह गरे, जसले टिस्ता नदीको बढ्दो बहावका कारण हुने डुबानबाट सडकलाई जोगाउन सहयोग पुर्‍याउनेछ ।

सांसदको मागप्रति मन्त्री गडकरीले गम्भीर चासो देखाउँदै सम्बन्धित अधिकारी र इन्जिनियरहरूलाई आवश्यक कार्य अघि बढाउन निर्देशन दिएका छन् ।

 


Leave a Comment