द हिमाल वर्ल्ड
18 जनवरी, 2025
इस्लामपुरमा पुलिसकर्मीमाथि गोली चलाएर भागेको आरोपी 25 वर्षीय सजक आलम पुलिसको इन्काउन्टरमा मारिएको छ। यद्यपि यसबारे पुलिसको तर्फबाट आधिकारिक बयान भने आएको छैन।
जानकारीअनुसार पुलिसलाई ग्वालपुकुर थानाको किचकतला भन्ने क्षेत्रमा आरोपी सजक आलम लुकेर बसेको गोप्य सूचना प्राप्त भएको थियो। सूचना पाएपछि पुलिस उक्त क्षेत्रमा जाँदा पुलिसमाथि आरोपीले गोली चलाएको र जवाबी कार्वाहीमा पुलिसको गोलीबाट आरोपी आलमको मारिएको बताइएको छ। आरोपी सजक आलममाथि पुलिसले दुई लाख रूपियाँको इनाम पनि राखेको थियो।
उल्लेखनीय छ, एउटा हत्याकाण्डको आरोपमा पक्रा परेको सजक आलमलाई बुधवार इस्लामपुर अदालतमा पेश गरेपछि साँझपख उसलाई पुन रायगञ्ज जेल लगिइँदै गर्दा बाटोबिचमा आरोपीले दुई पुलिस कर्मीमाथि गोली प्रहार गरेर चम्पट कसेको थियो। हत्याकाण्डको आरोपमा पक्रा परेका सजक आलम विगत 2019 –देखि नै पश्चिम बंगालको उत्तर दिनाजपुर जिल्ला अन्तर्गत रायगञ्ज जेलमा थिए। उमाथि हत्याको मुद्दा चलिरहेको थियो। यसै क्रममा बुधवार इस्लामपुर अदालतमा उनको पेशी थियो अनि पेशीपछि उनलाई फर्काएर रायगञ्ज जेल लगिँदै गर्दा साँझको लगभग 5 बजीतिर रायगञ्जको ग्वालपुकुर थाना अन्तर्गत पाञ्जीपाड़ाछेउ पुग्दा उक्त घटना घटेको थियो। यस घटनामा एएसआई निलकान्त सरकार र कन्स्टेबल देवेन वैश्य गम्भीर घाइते भएका थिए भने हाल मतिगढास्थित एउटा निजी नर्सिङ होममा उनको उपचार भइरहेको छ।
घटनाबारे विभिन्न संशय र प्रश्नहरू उठिरहेकोबीच उत्तर बंगालका आईजी राजेशकुमार यादवले बिहीबार पत्रकार सम्मेलन गरेर घटनाबारे सनसनीपूर्ण खुलासा गरेका थिए। आईजी राजेश यादवले आरोपी सजक आलम लकअपमा भएको बेला नै उसलाई बन्दुक आपूर्ति गरिएको बताएका थिए।
Leave a Comment