loader

Breaking News

डुवर्सका गोर्खाहरूमाथि राज्य सरकारले भेदभाव गरेको उठ्यो आरोप

Image
 

डुवर्सको जलपाइगढी जिल्लास्थित ओदलाबारीको दिपुपाडास्थित स्थानीय गोर्खा भवनमा शनिबार आदिवासी गोर्खा संयुक्त संघ (आगोसस) को केन्द्रीय समिति र बाग्राकोट तथा ओदलाबारी शाखा कार्यकारिणी समितिको संयुक्त बैठक सम्पन्न भयो। उक्त सभामा आगोससको एउटा महत्वपूर्ण प्रेस भेला समेत आयोजना गरिएको थियो।
सभाको मुख्य एजेन्डा पश्चिम बंगाल राज्य सरकारले गठन गर्न लागेको गोर्खा विकास तथा सांस्कृतिक बोर्ड सम्बन्धमा डुवर्स क्षेत्रका गोर्खा समुदायका मागहरूलाई केन्द्रमा राखिएको थियो।
आगोससका अध्यक्ष सघन मोक्तानले स्पष्ट रूपमा राज्य सरकारसमक्ष पुरानै माग दोहोर्‍याउँदै डुवर्सका प्रत्येक क्षेत्रबाट एक-एकजना प्रतिनिधि र एकजना योग्य सभापति तथा उपसभापतिलाई बोर्डमा समावेश गरिनु पर्ने बताए। उनले अझ भने - डुवर्सका गोर्खा समुदाय पनि राज्यका बराबरीका नागरिक हुन्, हाम्रो मौलिक र राजनैतिक अधिकार राज्यले सुनिश्चित गर्नुपर्छ। उनले पहाडका गोर्खा समुदायका लागि गठन गरिएका विभिन्न जातीय कल्याण बोर्डहरूको जस्तै सुविधा डुवर्समा पनि दिनुपर्ने माग गर्दै राज्य सरकारमाथि भेदभावपूर्ण दृष्टिकोण अप्नाएको आरोप लगाए।
मोक्तानले बताए अनुसार, डुवर्समा गोर्खा जनसंख्या पहाडको तुलनामा करिब 25 प्रतिशत बढी भए तापनि, राज्यले अझैसम्म डुवर्सेली गोर्खा समाजका लागि कुनै जातीय विकास बोर्ड दिएको छैन।
अघिल्लो बोर्डका सदस्यहरूले समुदायको अपेक्षाअनुसार कार्य नगरेको भन्दै मोक्तानले पुराना सदस्यहरूलाई पुनः नियुक्त नगर्न पनि सरकारसँग आग्रह गरे। 
बोर्ड गठनको उद्देश्य गोर्खा समुदायको सर्वाङ्गिण विकास हो भने यसमा समाजसेवी र सामाजिक काममा क्रियाशील व्यक्तिहरूको सहभागिता अनिवार्य हुनुपर्ने कुरामा उनले जोड दिए। सभामा अगामी 16 अगस्त 2025 मा हुने भनिएको पश्चिम डुवर्सेली गोर्खा चिन्तन सभा, अब 17 अगस्त 2025, आइतबार आयोजना गरिने निर्णय गरिएको छ। अन्त्यमा आगोससले सम्पूर्ण डुवर्सेली गोर्खा समुदायलाई एक भएर न्यायोचित माग र उचित प्रतिनिधित्वका लागि गोलबद्ध हुन आह्वान गर्दै आन्दोलनको तयारीको संकेतसमेत दिएको छ।


Leave a Comment