डुवर्सको नगरकट्टा ब्लकस्थित धरणीपुर कालीखोला पाइपलाइन क्षेत्रमा जंगली हात्तीले सातवटा घर ध्वस्त बनाइदिएको छ भने हात्तीको आक्रमणमा दुई नानीहरू भाग्यले बाँचेका छन्। उक्त घटनाले क्षेत्रमा आतङ्कको परिवेश छाएको छ। मंगलबार राति डायना जंगलबाट निस्केको तीनवटा हात्तीको समूहले चियाबगान क्षेत्रमा पसेर सातजनाको घर भत्काइदिएको छ।
स्थानीय र वन विभाग सूत्रअनुसार धरणीपुर चियाबगानको पाइपलाईनस्थित सोमा मुन्डाको घरमा हात्तीले सर्वप्रथम आक्रमण गरेको थियो। त्यतिबेला घरमा सोमाकी 13 वर्षीया छोरी सुमन र 11 वर्षीय छोरा सुतिरहेका थिए। हात्तीले घरमा रहेको अन्न, चामल, आटा, दाल र अन्य खाने सामान सबै नष्ट गरे तापनि तर भाग्यवश, दुई नानीहरूको ज्यान जोगाउन सफल भएको बताइएको छ।
त्यसपछि हात्तीले क्षेत्रको मुनी उरावँ, रुकुमुनी खेरवार, लक्ष्मी खेरवार, कौशिल्ला खेरवार, चन्दन उरावँ र सुशीला खेरवारका घरहरूमा आक्रमण गरेर उनीहरूको घर पनि पूर्ण रूपमा क्षतिग्रस्त बनाइदिएको छ।
घटनाको खबर पाएपछि डायना रेन्जका वनकर्मी सपन साह आफ्नो टोलीसहित घटनास्थलमा पुगी रातभरी त्यहीं बसेर धेरै घण्टाको प्रयासपछि बिहान 4 बजीतिर हात्तीलाई सफलतापूर्वक डायना जंगलमा खेदाउन सक्षम भए । पीडित गाउँलेहरूले प्रशासनसँग हात्तीको आक्रमण रोक्न स्थायी समाधान र क्षतिपूर्तिको माग गरेका छन्।
Leave a Comment